Thu, 17 Oct, 2019


सूर्यमान शाक्य : त्यो दसैँ, यो दसैँ
सूर्यमान शाक्य
फरकधार / असोज १७, २०७६

दसैँ आफैँमा रमाइलो पर्व हो । दसैँ भन्नासाथ युवा अवस्थाको दसैँ नै मलाई धेरै सम्झनामा आउँछ । आजभन्दा ४० वर्षअघि म पटना विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै थिएँ । त्यतिवेला कहिले दसैँ आउला र घर जान पाइएला भन्ने हुन्थ्यो । वर्षभरि नै दसैँको प्रतीक्षा गरेर बसिरहेको थिएँ । ४० वर्षपहिले काठमाडौं, भक्तपुर र ललितपुर अहिलेको भन्दा अर्कै थियो । 



आज ४० वर्षपछि याद गर्दा त्यो पो दसैँ थियो तजस्तो लाग्छ । दसैँका वेला उपत्यकामा हल्का चिसो भित्रिसकेको हुन्थ्यो । वातावरणमा नै दसैँको सुवास मिसिएको प्रतीत हुन्थ्यो । वरिपरि सबैतिर सफा थियो । दसैँका लागि गरिने पूजा नै विशेष थियो । चोकमा पर्ने गरी पिङ थापिएको हुन्थ्यो । चंगाको पनि निकै महत्व थियो । एउटा भए पनि नयाँ लुगाले प्राथमिकता पाउँथ्यो । 

परिवारका सदस्य जति पर भए पनि दसैँमा घर आउनु अनिवार्यजस्तै थियो । दुःख–सुख साटिन्थ्यो । भावना आदान–प्रदान हुन्थ्यो । हरेकको घरमा मीठा–मीठा परिकार पाक्थ्यो । दसैँभरि मीठो–मीठो खान पाउँदा मुख मातिन्छ पनि भन्ने गरिन्थ्यो । वरपर आफन्तको घरमा परिकार खान जाने चलन थियो । हरेक कोणबाट दसैँ आनन्दको समय थियो । 

लामो समय भेट नभएका साथीहरू भेटिन्थे । साथीभाइ मिलेर भक्तपुरका मन्दिर घुम्न गइन्थ्यो । महत्वपूर्ण कुरा काठमाडौं उपत्याकाको यो सहर असाध्यै सफा र शान्त थियो । अहिलेको जस्तो होहल्ला थिएन । यसै पनि सवारीसाधन कम थिए । त्यसमाथि दसैँका वेला झन् साझा बस मात्र चल्थे । बाहिर निस्किँदा, छतमा जाँदा मन आनन्द हुन्थ्यो । 

चंगा उडाउनु दसैँको अर्को विषेशता थियो । साना–ठूला सबैको रहर थियो, चंगा उडाउने । धागो बलियो बनाउन गम लगाइन्थ्यो । पाकेको भात मिचेर धागोमा लगाइन्थ्यो, जसलाई मन्जा हाल्ने भनिन्थ्यो । 

लामो समय भारत बसेर दसैँमा मात्र उपत्यका भित्रिँदा यहाँ कुनै विकास नभएजस्तो लाग्थ्यो । हामी अविकसित छौँ जस्तो लाग्थ्यो । पटनाको कोलाहल वातावरणबाट उपत्यकाको शान्त ठाउँमा आउँदा यहाँ पनि वातावरण प्रदूषण भए हुने नि जस्तो लाग्थ्यो, मनमा । त्यो रमाइलोका लागि भनिएको थियो । कुनै खास प्रगति नभएर भनेको थिएँ । सोचेको थिइनँ कि ४० वर्षपछि यस्तो भोग्नुपर्ला । 

दसैंँको दिनभन्दा पनि तयारीले आनन्द दिन्थ्यो । रमाइलो लाग्थ्यो । एक महिनाअघिबाट तयारी हुन्थ्यो । आज आएर ती दिन फर्की हेर्दा त्यो पो हो दसैँजस्तो लाग्छ । 

अहिले दसैँमा अघिल्लो दिनसम्म काम गरेर भोलिपल्ट टीका थाप्नुपर्ने अवस्था छ । यो परिस्थितिले बनाएको हो । आवश्यकताले बनाएको हो । पहिलेको जस्तो परिवारका सबै सदस्य भेट हुन पनि पाइँदैन । कोही न कोहीको अभाव महसुस भइरहन्छ । उत्साह कम भएको छ । बाध्यात्मक परिस्थिति छ । मजबुरी पनि हो नेपालीको । आजभोलि दसैँ बालबच्चाका लागि मात्रै हो किजस्तो पनि भएको छ । 

जम्मा भएका परिवारका सदस्य पनि कोही ट्रेकिङमा जाने, कतै घुम्न जाने, दसैँको बिदा कसरी सदुपयोग गर्ने भनेर अरू काममा समय दिन थालेका छन् । दसैँ मनाउन नै बिदा भएको हो भन्ने कुराको महत्व कम भएको छ । दसैँ मनाउने तरिकामा भिन्नता आउन थालेको छ । 

सबै कुरामा आधुनिकता सुहाउँदैन भन्ने कुरा अहिले–अहिले मनाउँदै आएका दसैँले प्रमाणित गर्छ । तर, अब ती परम्परागत दसैँ मनाउने मानिस पनि छैनन् । कसरी मनाउने भनेर सिकाउने गुरूको नै अभाव छ । 

परम्परागत रूपमा दसैँ मनाउनेको संख्या कम भएको छ । तर, अहिलेको पुस्तालाई परम्परागत शैलीमा दसैँ मनाउने चाहना भने पक्का छ । विधि–विधानका मन्त्र धेरैले भुलिसकेका छन् । गाउँघरमा मात्र दसैँको रौनक छ । तर, परदेशिएका परिवारका सदस्य नहुँदा उनीहरूको दसैँ पनि फिका नै हुन्छ । 

सहरमा परम्परागत दसैँ क्रमशः कम हुँदै गएको छ । एकजनाको मात्र होइन, पुरै समुदायमा आधुनिक दसैँ भित्रिएको छ । युवापुस्तामाथि आधुनिकता भित्र्याएको आरोप होइन । तर, समयसँगै परिवर्तन भएको कुरा भने नकार्न सकिँदैन । 

तर, जतिसक्यो परम्परागत रूपमा नै मनाउन मेरो अनुरोध छ । मानिसहरू घरबाहिर निस्किन नपरे पनि हुन्थ्यो भन्ने मनस्थितिका छन् । किनकि बाटो टोल अव्यवस्थित छ । जता निस्कियो, फोहोर मात्रै छ । कहीँ पनि समयमा पुग्न सकिने अवस्था छैन । सामाजिक सञ्जालले अझै उनीहरूलाई बाँधेर राखेको छ । 

यस्ता परिवर्तन नै परम्परागत दसैँका बाधा हुन् । हामीले हाम्रो परम्परा जोगाउन पहल गर्नैपर्छ । 


(शाक्य काठमाडाै स्कुल अफ ल का प्राध्यापक हुन् ।)


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्