दसैँमा बलि चढाउन मात्र दुई कराेड खर्च

काठमाडाैं– दसैँको अवसरमा विभिन्न शक्तिपीठहरूमा खसी, बोका, राँगा, कुखुरा, हाँसलगायतको बलि चढाउन करिब दुई करोड रुपैयाँ खर्चिने तयारी गरिएको छ । गुठी संस्थान र निवृत्तिभरण कार्यालयले पशुपक्षीको बलिका लागि मात्र करिब दुई करोड बजेट छुट्याएको हो । चाडपर्व, जात्रा, मेलाको अवसरमा शक्तिपीठमा सरकारको तर्फबाट बलि तथा पूजाआजाका लागि गुठी संस्थान र निवृत्तिभरण कार्यालयले खर्च गर्ने व्यवस्था छ । 

निवृत्तिभरण कार्यालयका प्रमुख हेमन्तराज निरौलाले यसपटक दसैँमा अष्टमी र नवमीको दिन मात्र झन्डै दुई करोडको राँगा, बोका, हाँस, कुखुरालगायतको बलि चढाइने बताए । उनले बलि दिन पशुपक्षी आपूर्तिका लागि टेन्डरसमेत भइसकेको जानकारी दिए । उनका अनुसार निवृत्तिभरण कार्यालयले ९१ लाख रुपैयाँको बलि दिनेछ । कौसी तोषाखानालाई प्रशासन पुनर्संरचना गर्दा सरकारले निवृत्तिभरण कार्यालय बनाएको छ । 

बलिका लागि गुठी संस्थानको मात्रै एक करोड २७ लाख
गुठी संस्थानले थप एक करोड २६ लाख ९० हजार रुपैयाँको बलि दिने तयारी गरेको छ । गुठी रहेका शक्तिपीठहरूमा बलि तथा पूजाआजाको व्यवस्थापन गर्ने जिम्मा गुठी संस्थानको जिम्मामा हुन्छ । शक्तिपीठ तथा मठमन्दिरको पूजाआजामा त्यसको दोब्बर खर्च हुने गुठी संस्थानले जनाएको छ । 

संस्थानले विभिन्न शक्तिपीठमा बलि दिन्छ । काठमाडौं, ललितपुर र भक्तपुर दरबार स्क्वायरका तलेजु मन्दिरमा सबैभन्दा धेरै खर्च हुन्छ । तलेजु मन्दिरहरूमा एक सय आठवटासम्म पशुबलि दिने चलन छ । बलिका लागि ल्याइने बोका, राँगा, हाँस तथा कुखुरा ठेक्काबाट व्यवस्थापन गरिन्छ । यस्तै, हरेक मठमन्दिरमा जमरा तथा पूजाआजामा पनि गुठी संस्थानले खर्च व्यवस्थापन गर्ने गरेको छ । 

यो वर्ष बलि खर्च कटौती
गुठी संस्थानले अघिल्लो वर्षको तुलनामा यो वर्ष बलिमा हुने खर्च न्यूनीकरण गरेको जनाएको छ । बलिप्रथा रोक्न रिट परेपछि सर्वोच्च अदालतले कानुन बनाएर बलि न्यूनीकरण गर्न परमादेश जारी गरेको थियो । परमादेशलाई ध्यान दिँदै छुट्टै नीति बनाएर बलिमा कटौती गरिएको गुठी संस्थानले जनाएको छ । परमादेशपछि संस्थानले गत वर्षबाटै गाडी तथा मेसिनमा दिने बलि कटौती गरेको थियो । बलिको वैकल्पिक विधिकारूपमा वैदिक विधिबाट पूजा गर्न थालिएको संस्थानका अधिकृत दीपक पाण्डेले बताए ।

टीकाको साइत १० बजेर ३५ मिनेटमा 



नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको शुभसाइत २१ असोज मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । निर्णायक समितिका अनुसार १८ गते शनिबार फूलपातीको दिन बिहान ८ बजेर ५२ मिनेटमा तुलजा भवानी यात्रा गराउन उत्तम हुनेछ । समितिले तुलजा भवानीलाई १० बजेर ५ मिनेट जाँदा आसनमा राख्न उपयुक्त हुने बताएको छ । 

सर्वसाधारणलाई राष्ट्रपतिको टीका
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका लगाउने राष्ट्रपति कार्यालयकी स्वकीय उपसचिव दीपा शर्माले जानकारी दिइन् । त्यसपछि उनले प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रसेवक उच्चपदस्थ कर्मचारी र सर्वसाधारणलाई राष्ट्रपति कार्यालयमा टीका लगाइदिनेछिन् ।



  • प्रकाशित मिति : असोज १८, २०७६ शनिबार ९:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया