एजेन्सी– हङकङमा यतिबेला झमझम पानी परिरहेको छ । अर्कोतिर त्यहाँको सरकारले ‘मास्क’ लगाउन प्रतिबन्ध लगाएको छ ।
तर, झमझम परिरहेको पानी र सरकारले लगाएको प्रतिबन्धको बेवास्ता गर्दै हङकङवासी आफ्नो माग र अधिकारका लागि सडकमा निस्किएका छन् । सरकारविरोधी अभियानमा निस्किएका हजारौँ हङकङवासीले सरकारका प्रतिबन्धहरुको बेवास्ता गर्न थालेको अब १७ साताभन्दा बढी भइसक्यो ।
अन्तर्राष्ट्रिय सन्चारमाध्यममा आएका समाचारहरुअनुसार त्यहाँको अदालतले सरकारले लगाएको प्रतिबन्ध खारेज गरिदिएको छ । तर, प्रहरीले मास्क लगाएर आन्दोलनमा उत्रिएका हङकङवासीलाई धमाधम पक्राउ गरिरहेको छ ।
गत शुक्रबार आन्दोलनकारीहरुका कारण बन्द भएका सहरका कतिपय मेट्रो सेवाहरु फेरि सन्चालनमा आएका छन् ।
प्रहरीले केही दिनअघि आन्दोलनकारीमाथि गोली प्रहार गरेपछि केहीअघि मत्थर भएको आन्दोलन फेरि चर्किएको हो ।
उता, हङकङ नेतृ क्यारी लामले मास्कमाथि प्रतिबन्ध लगाउन बेलायती शासनताकाको नियमलाई अगाडि सारेकी छिन् । प्रदर्शनकारीले चाहिँ हङकङ र चीनमा सीमामा अहिले नै प्रजातन्त्र सकाइएको आरोप लगाएका छन् । ‘हामी प्रदर्शनकारीलाई हङकङलाई थप खराब बनाउन दिन चाहँदैनौँ,’ लामले भनेकी छिन्, ‘अत्यधिक धेरै हिंसा भएकाले मास्कमाथि प्रतिबन्ध लगाइएको हो ।’
तर, त्यहाँको उच्च अदालतले सरकारले लगाएको यो प्रतिबन्ध खारेज गरिदिएको छ ।
सन् १९९७ मा बेलायतले हङकङलाई चीनको अधिनमा रहने गरि हस्तान्तरण गरेको थियो । तर, केहीअघि देखि हङकङको राजीतिमा चीनको प्रत्यक्ष संलग्नता भएको विरोध गर्दै त्यहाँ प्रदर्शनी सुरु हुन थालेका छन् । पछिल्लो पटक चाहिँ हङकङले सुपुर्दगी विधेयक ल्याएपछि आन्दोलन चर्किएको हो । यो विधेयकअनुसार हङकङबाट जो कसैको पनि अनुसन्धान चीनले गर्न चाहेमा अभियुक्तलाई चीनलाई हस्तान्तरण गर्नुपर्छ ।
तर, लामो समयसम्म आन्दोलन चर्किएपछि यो विधेयक खारेज गरिएको छ । अब त्यहाँका प्रदर्शनकारीले हङकङकी नेतृ क्यारी लामको राजीनामा माग गरिरहेका छन् । लामचाहिँ अहिले तत्काल राजीनामा दिने मुडमा छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।