क्षमताकाे परीक्षा

कुनै समय आयुर्वेदाचार्य नागार्जुनलाई आफ्नो प्रयोगशालामा काम गर्न एकजना सहायकको खाँचो प-यो । उनले सहायक खाँचो परेकोबारे सूचना जारी गराए । उनको प्रयोगशालामा काम गर्न इच्छुक धेरैले आवेदन दिए । लिखित परीक्षापछि उनले दुईजना उपयुक्त उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरे । 

लिखित परीक्षाका आधारमा हेर्दा दुवै उम्मेदवार नागार्जुनको सहायकका रूपमा उपयुक्त पात्र देखिन्थे । तर, उनलाई एकजना मात्र आवश्यक परेको थियो । अब छनोट गर्ने कसरी र कसलाई ? उनी असमञ्जसमा परे । धेरै सोचविचार गरिसकेपछि उनले दुवैलाई तीन दिनमा एउटा रसायन तयार गरेर ल्याउन अनुरोध गरे । 

तीन दिनपछि दुवै उम्मेदवार आचार्य नागार्जुनसामु उपस्थित भए । आचार्यले उनीहरूलाई रसायन देखाउन अनुरोध गरे । उनको अनुरोध सुन्नासाथ पहिलो उम्मेदवारले फुर्तीसाथ भने— ‘हजुरले भनेजस्तो रसायन तयार गर्न मेरा सामु निकै चुनौती थिए । आमा ज्वरोले सिकिस्त हुनुहुन्थ्यो । बाबालाई बाथले गालेको थियो । भाइको खुट्टा भाँचिएको थियो । उहाँहरू सबैको सेवा, सुश्रुषा गर्दै मैले हजुरले दिएको रसायन तयार गर्ने कार्यमा सफलता पाइछाडेँ ।’ उनले रसायन आचार्यलाई बुझाए ।

पहिलो उम्मेदवारको जवाफ सुनिसकेपछि आचार्य नागार्जुनले दोस्रो उम्मेदवारलाई उनले तयार गरेको रसायनबारे प्रश्न गरे । उनले विनम्रतापूर्वक जवाफ दिए— ‘आचार्य, मैले हजुरले दिएको काम सुरुसमेत गर्न सकिनँ । मेरो छिमेकमा बस्ने एक वृद्धा निकै बिरामी हुनुहुन्थ्यो । उहाँको हेरचाह गर्ने कोही पनि थिएन । त्यसैले उहाँको सेवामा लगातार खटिनुप-यो । बल्ल आज उहाँ केही उठ्नुभयो र मात्र म अहिले यहाँ आउन सफल भएँ ।’ 

दोस्रो उम्मेदवारको जवाफ सुनेपछि आचार्यको अनुहारमा चमक आयो । उनले भने— ‘मेरो सहायकका रूपमा काम गर्न तिमी नै बढी योग्य छौ । रसायन जीवनरक्षार्थ उपयोग हुन्छ । जसले अरूको दुःख, पीडा बुझ्न सक्छ उसैले मात्र रसायनको महत्व बुझ्छ र त्यसलाई तयार गर्न पनि सक्छ । त्यसैले, तिमी आफूलाई अनुकूल हुने दिनदेखि यहाँ काम सुरु गर्न सक्छौ ।’





  • प्रकाशित मिति : असोज २०, २०७६ साेमबार १५:४९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया