तनहुँ– चितुवा आतंक बढ्दै गएपछि भानु नगरपालिका–१ जामुने गैह्रा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी, जनप्रतिनिधि तथा स्थानीय चितुवाको खोजीमा जुटेका छन् । बुधबार जामुने गैह्रा क्षेत्रमा चितुवाको खोजी गरेका उनीहरूले बिहीबार भने सुखौरा खोला क्षेत्रमा चितुवा खोजी गरेका थिए ।
सो क्षेत्रमा चितुवा देखिएपछि सशस्त्र प्रहरी र स्थानीयले खोजी गरेको थियो । तर, चितुवा नियन्त्रणमा लिन नसकिएको भानु–२ का वडाध्यक्ष अर्जुनबहादुर केसीले बताए । वन कार्यालयले चितुवा नियन्त्रणमा लिन एक वर्षदेखि जंगलमा फुट ट्र्याप, निगरानी गर्न सिसीक्यामेरा र बाख्रासहितको खोर राखेको थियो । केही समयअघि एउटा चितुवा मृत अवस्थामा भेटिएको थियो भने एक हप्ताअघि अर्को चितुवा जंगलमा थापिएको खोरमा परेको थियो । खोरमा परेको चितुवा रुपन्देहीको शंकरनगरस्थित प्राणी उद्यानलाई हस्तान्तरण गरिएको थिथयो । तर, एक साता पनि नबित्दै चितुवाले बालकको ज्यान लिएपछि स्थानीयमा त्रास पैदा भएको छ ।
जामुने गैह्रामा टीकाको दिन चितुवाको आक्रमणमा चार वर्षीय बालक आषिक बानियाँको ज्यान गएको थियो । घरनजिकै टौवामा हालिएको पिङ खेलिरहेका आषिकको चितुवाले ज्यान लिएपछि त्यस क्षेत्रमा त्रास फैलिएको वडाध्यक्ष प्रेमबहादुर लामाले बताए । उनले भने, ‘पिङमा खेल्न तीनजना बालबालिका गएका रहेछन्, त्यसमध्ये सबैभन्दा सानो बालकलाई चितुवाले आक्रमण गरी बिस मिटर परसम्म लगेछ ।’ लगत्तै अरू साथी चिच्याएपछि चितुवा भागेको उनले बताए ।
जंगलमा आहारा अभाव भएपछि चितुवाले घरमै आएर बालबालिकामाथि आक्रमण गरेको हुन सक्ने डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । पटक–पटक बालबालिकालाई आक्रमण गरेपछि चितुवालाई मानिसको मासु खाने बानी बसेकाले पनि बालबालिकामाथि आक्रमण थप बढेको उनको भनाइ छ । उनले जंगलमा नरभक्षी चितुवाको बथान नै हुन सक्ने आशंका रहेको भन्दै बालबालिकालाई एक्लै नछाड्न आग्रहसमेत गरे । भानु नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा गरी डेढ वर्षको अवधिमा पाँच बालबालिकाको चितुवाको आक्रमणमा ज्यान गएको छ ।
पीडितपरिवारलाई राहत प्रदान
डिभिजन वन कार्यालय तनहुँले पीडितपरिवारलाई ५० हजार रुपैयाँ प्रदान गरेको छ । बुधबार बालकका काका रामचन्द्र परिवारलाई रकम हस्तान्तरण गरिएको डिभिजन प्रमुख बरालले बताए । उनले भने, ‘अहिले तत्कालका लागि पीडितपरिवारलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।’ दश लाख दिने निर्णय भएको भन्दै उनले बाँकी नौ लाख ५० हजार रुपैयाँ पछि हस्तान्तरण गरिने जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।