काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको दबाब वा प्रभाव नपरी प्रहरीले निष्पक्ष अनुसन्धान गर्नु पर्ने बताएका छन् । ६४ औं प्रहरी दिवसका अवरसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीको यो अभिव्यक्ति निवर्तमान सभामुख कृष्णबहादुर महराप्रति लक्षित भएको धेरैको बुझाइ छ । प्रहरीले निवर्तमान सभामुख महरामाथि लागेको बलात्कार प्रयासको आरोपमाथि छानबिन गरेको समयमा यो अभिव्यक्तिले प्रहरीको मनोबल पनि बढ्ने अपेक्षा गरिएको छ ।
‘अनुहार हेरेर अनुसन्धान गर्ने होइन,’ प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, ‘कुन पार्टी सरकारमा छ, कसले अपराध गर्यो वा कुन ओहोदामा छ, त्यसलाई हेरेर अनुसन्धान गर्ने होइन । निष्पक्ष अनुसन्धान हुनुपर्छ र यस्तो र उस्तो भनेर दबाब दिइनु हुँदैन ।’
त्यति मात्र होइन, पछिल्लो समय सामाजिक सन्जालका कारण सामाजिक संरचना नै बिथोल्ने काम भइरहेको पनि प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गरे । प्रधानमन्त्री ओलीले राजनीतिको आडमा अपराध बढ्दै गएको तर यस्ता अपराधको सन्दर्भमा प्रहरीले कुन पार्टी सरकारमा छ भन्ने कुरामा ध्यान दिन नहुने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।