चिनियाँ राष्ट्रपति सी आज नेपाल आउने

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदैछन् । दुई दिने राजकीय भ्रमणका लागि नेपालमा चिनियाँ राष्ट्रपति २३ वर्षपछि आउन लागेका हुन् । 

सी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणा स्वीकार गर्दै नेपाल आउन लागेका हुन् । उनी अहिले भारतमा छन् । भारतबाट उनी सोझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलमा सीलाई नेपालले उच्च प्राथमिकताका साथ स्वागत गर्ने कार्यक्रम रहेको छ । 

सीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पनि विमानस्थलमा पुग्नेछन् । 

चीनबाट नै ल्याएको विशेष विमानबाट सी त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि सोझै सोल्टी होटलमा जानेछन् । सोल्टी होटल सीका लागि तीन दिनसम्म रिजर्भ गरिएको छ । सोल्टीका सबै कोठाहरु शुक्रबार नै खाली गराइएको छ । 

सीको आजै राष्ट्रपति भण्डारीसँग द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ । उनी साँझ ६ बजे शितल निवास पुग्ने र भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति भण्डारीले सीको स्वागतमा आयोजना गरेको रात्रिभोजमा उनी सहभागी हुनेछन् । यो रात्रिभोज सोल्टी होटलमा नै दिने कार्यक्रम रहेको छ । यो रात्रिभोजभन्दा केही अघि मात्र सी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुनेछ । 

रात्रिभोज सकिएलगत्तै सीले नेपाल सरकारका विभिन्न मन्त्री तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि भेटघाट गर्नेछन् ।



सी भ्रमणको दोस्रो दिन आइतबार विहानैदेखि भेटवार्ताका कार्यक्रम राखिएका छन् । उनले आइतबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलसँग सीको प्रतिनिधिमण्डलसँगै औपचारिक वार्ता हुनेछ । यो वार्तामा विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

आइतबार नै सीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् । सी आइतबार दिउँसो त्रिभुवन विमानस्थलबाट चीन फर्किँदैछन् ।



  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार ८:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया