सीलाई सुरक्षा दिन चीनबाट आए ५० सुरक्षाकर्मी

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ आज दिउँसो ४ः३० बजे त्रिभुवन विमानस्थलमा विशेष विमानबाट अवतरण गर्दैछन् । त्यहाँबाट उनी सोल्टीमोडमा रहेको सोल्टी होटलमा जाने कार्यक्रम रहेको छ । त्यसका लागि उनले गाडी चीनबाट नै ल्याएका छन् । उनी चढ्ने यो गाडी गत मंगलबार नै नेपाल आइपुगेको हो । 

चिनियाँ राष्ट्रपतिको सुरक्षामा पनि चिनियाँ सुरक्षाकर्मी नै खटिनेछन् । सुरक्षा व्यवस्थामा नेपाली सेना पनि प्रयोग गरिएको छ । तर, भित्री घेरामा चिनियाँ राष्ट्रपतिको सुरक्षा चिनियाँ सुरक्षाकर्मीले नै गर्नेछन् । त्यसका लागि कम्तिमा पनि ५० चिनियाँ सुरक्षाकर्मी नेपाल आइसकेका छन् । 

चिनियाँ राष्ट्रपति सी विमानस्थलबाट तीनकुने, बानेश्वर, थापाथली, कालिमाटी हुँदै सोल्टी होटल पुग्दैछन् । उनको सुरक्षाका लागि नेपाली सेनाको हेलिकोप्टर आकाशबाट समेत स्कर्टिङ गर्दैछ । सुरक्षाका हिसाबले सोल्टी होटलका सबै २ सय ८३ कोठा चिनियाँ राष्ट्रपतिका लागि नेपाल सरकारले बुक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई रात्रिभोज पनि सोल्टी होटलमा नै दिने कार्यक्रम राखिएको छ ।

अर्कोतिर, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा विरोध गर्ने आशंकामा नेपाल प्रहरीले तिब्बती शरणार्थीसहित २० जनाभन्दा धेरैलाई पक्राउ गरिसकेको छ ।

चिनियाँ राष्ट्रपति नेपाल आउँदा त्रिभुवन विमानस्थलमा कम्तिमा पनि तीन घन्टा अन्य विमानहरुले अवतरण गर्न पाउनेछैनन् । त्यस्तै, सडक पनि पूर्ण रुपमा खाली गरिनेछ । चिनियाँ राष्ट्रपति यात्रा गर्ने सडकमा मानिसहरुलाई पैदल यात्रा पनि गर्न नदिने भइएको छ । ट्राफिक प्रहरी महाशाखाले चिनियाँ राष्ट्रपति हिँड्ने रुटमा वैकल्पिक सडक प्रयोग गर्न अपिल गरेको छ ।

चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाले विमानस्थलमा नै गार्ड अफ अनर दिने कार्यक्रम रहेको छ । उनको स्वागतमा २१ तोपको सलामी दिने कार्यक्रम रहेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो । तर, सीको सुरक्षालाई ख्याल गर्दै विमानस्थलमा नै गार्ड अफ अनर दिने भइएको हो । उनलाई विमानस्थलमा स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत पुग्नेछन् । 





  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार ८:५३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया