जोकर फिल्मसँग किन तर्सिएको छ विश्व ?

एजेन्सी– गत शुक्रबार रिलिज भएको एउटा फिल्मले विश्वमा नयाँ तरंग सिर्जना गरेको छ । फिल्म हो– जोकर । सुपरहिरो फिल्मको दुनियाँमा बनेको यो पहिलो फिल्म हो जो कुख्यात तथा खतरानक भिलेनमाथि आधारित छ । 

त्यसो त यो फिल्मले बक्स अफिसमा निकै राम्रो कमाइ गरेको छ । २४ करोड ८० लाख डलरभन्दा धेरै कमाइसकेको यो फिल्म ब्याटम्यानका कट्टर दुश्मन जोकर बन्ने कथामा आधारित छ । जब यो फिल्म रिलिज हुने घोषणा भएको थियो, अमेरिकी सुरक्षाकर्मीले यसका कारण अमेरिकाका विभिन्न ठाउँमा अन्धाधुन्ध गोली प्रहार हुनसक्ने आशंका व्यक्त गरेका थिए ।

तर, यो फिल्म रिलिज हुँदा त्यस्तो कुनै घटना भएन ।

फेरि यो आशंका किन ठिक थियो भने ब्याटम्यान सिरिजको अन्तिम फिल्म ‘द डार्क नाइट राइजेज’को एउटा सो हुँदा कोलोराडोको अरोरामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए । घटनामा १२ जना मारिएका थिए, ७० भन्दा धेरै घाइते भएका थिए । 

त्यसैले जोकर चाहिँ अरोराका चलचित्र हलमा देखाइएन । यो फिल्म त्यहाँ नदेखाउन पछिल्लो घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारले अपिल पनि गरेका थिए । उनीहरुले फिल्म निर्माता कम्पनीलाई चिठी पनि लेखेका थिए– हामीलाई सुरक्षित राख्नका लागि यो फिल्म यहाँ नदेखाइयोस् ।

जोकर मानसिक रुपमा बिमारी कमेडियन अर्थर फ्लेकको कथा हो । अर्थरको पेसेवर तथा निजी जीवनमा दुर्घटनाका कारण यो फिल्म सिर्जित भएको छ । 



फिल्ममा हिंसाका अत्यन्त धेरै भयानक दृश्यहरु राखिएका छन् । यसका कारण यो फिल्मको आलोचना पनि भएको छ । भ्यानिटी फेयर म्यागजिनमा रिचर्ड लसनले लेखेका छन्, ‘यो फिल्म गैर जिम्मेवारीको प्रचार हुनसक्छ ।’

तर, फिल्मका निर्देशक टड फिलिप्स र अभिनेता वाकिन फिनिक्स यो कुरामा सहमत छैनन् । उनहिरु जोकर फिल्मले हिंसाका लागि सहानुभूति नदर्शाउने वकालत गरिरहेका छन् । फिल्मको प्रमोसनमा फिलिप्सले भनेका थिए, ‘यो फिल्मले प्रेमको अभाव, बाल्यकालका नराम्रा अनुभव र यो समाजमा सहानुभूतिको कमीलाई देखाउँछ ।’



फिलिप्सले बरु यो विवाद उत्पन्न हुनुको कारण वामपन्थीहरुको गैर जिम्मेवार अभिव्यक्ति भएको बताएका छन् । अभिनेता फोनिक्सले पनि यो फिल्मको विषयमा व्यर्थमा झगडा निस्किएको र आफूले त्यो झगडालाई रमाइलोको रुपमा लिएको बताएका छन् ।

द डार्क नाइटमा चाहिँ जोकरको अभिनय गरेका हिथ लेजरले फिल्म रिलिज भएको केही समयमा नै ज्यान गुमाएका थिए । उनको मृत्यु अत्यधिक धेरै लागु औषध सेवनका कारण भएको थियो ।

तर, यतिकै कारण मात्र पनि यो फिल्म विवादमा आएको होइन । फिल्ममा जसरी मानसिक बिमारीको विषयमा देखाइएको छ, त्यसले पनि धेरैले यसको आलोचना गरेका छन् । फिल्ममा मनोरोगीलाई नराम्रो देखाउने परम्परालाई यो फिल्मले निरन्तरता दिएको आरोप लागेको छ । यसले निरन्तरता पाउँदा विश्वमा थप समस्या हुने फिल्म समीक्षकहरुले पनि निक्र्योल निकालेका छन् । त्यसैले पनि यो फिल्मका कारण विश्व तर्सिएको छ । 

तर, जस्तो नकारात्मक प्रतिक्रिया आए पनि यो फिल्मले बक्स अफिसमा राम्रो काम गरेको छ । यो फिल्म भेनिस फिल्म फेस्टिभलमा पनि निकै प्रशंसाको चलचित्र बनेको थियो । 

  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार २३:२४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया