काठमाडाैं– नेपाली कांग्रेसले विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वहरूको अवसरमा आइतबार चियापान समारोह गर्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट अपराह्न ५ बजेसम्म चियापान समारोह हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि ०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाका दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्दै आएको छ । त्यही परम्परालाई कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल सरकार मन्त्रिपरिषद्का सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, माननीय सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरू, पेसागत एवं बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू, मानवअधिकारकर्मीहरू, विभिन्न सञ्चारमाध्यमका प्रमुखहरू, पत्रकारहरू, गैरआवासीय नेपालीहरूको संघ–संस्थाका प्रमुखलगायतका विशिष्ट महानुभावहरूको सहभागिता हुने कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।