आइसिसी वरियतामा नेपाल दुई स्थान तल

काठमाडाैं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले अक्टोबर महिनाको टी–२० पुरुष वरीयता निकाल्दा नेपाल दुई स्थान तल झरेको छ । ताजा वरीयताअनुसार नेपाल १३औँ स्थानमा छ । यसअघि नेपाल ११औँ स्थानमा थियो । नेपालले  दुई साताभित्र दुईवटा टी–२० अन्तर्राष्ट्रिय सिरिजमा सहभागिता जनाएको थियो, जसमा नेपालले खराब नतिजा बेहोरेको थियो । 

युएई र स्कटल्यान्ड माथि
वरीयतामा नेपाललाई युएई र स्कटल्यान्डले पछि राखेका छन् । अक्टोबरको वरीयतामा स्कटल्यान्ड स्थान सुधार गरी ११औँ स्थानमा उक्लिएको छ । यसैगरी, युएई १२औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । स्कटल्यान्ड र युएईले समान १९४ रेटिङ अंक पाएका छन् । १३औँ स्थानमा रहेको नेपालको १९० रेटिङ अंक रहेको छ । यता सिंगापुरमा भएको त्रिकोणात्मक सिरिजको विजेता जिम्बावे १५औँ स्थानमा छ । 

दुई सिरिज
सिंगापुर र ओमानमा भएका टी–२० अन्तर्राष्ट्रिय सिरिजमा खराब नतिजा बेहोर्नु नै नेपालको वरीयता खस्कनुको प्रमुख कारण बन्यो । नेपालले ओमानमा भएको पाँच राष्ट्र सम्मिलित सिरिजमा दुई खेलमा जित निकालेको थियो । नेपालले सुरुवाती दुई खेलमा हङकङ र नेदरल्यान्डमाथि सानदार जित निकालेको थियो । त्यसपछि नेपाल ओमान र आयरल्यान्डसँग पराजित भयो । सो प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । यसैगरी, सिंगापुरमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले सिंगापुरलाई हराएको थियो । 

पाकिस्तान शीर्ष स्थानमा
टी–२० वरीयतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । पाकिस्तान २७४ रेटिङ अंकका साथ शीर्ष स्थानमा रहेको हो । यसैगरी, इंग्ल्यान्ड २६६ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका तेस्रो र भारत चौथो स्थानमा छन् ।





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार १०:४२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया