काठमाडौं– दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ चीन फर्किएका छन् ।
उनी फर्किनुभन्दा केही घन्टा पहिले काठमाडौंमा भएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा १८ विभिन्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो भेटवार्ता सकिएको केही समयमा नै सी स्वदेश फर्किएका हुन् ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा सबैभन्दा प्राथमिकतामा रेलमार्ग परेको छ । नेपाल चीन सीमापार रेलवे परियोजनाको सम्भाव्यता अध्ययन गर्न नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा नै रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने बताएका थिए ।
त्यस्तै, सीमा व्यवस्थापन प्रणालीबारे पनि नेपाल र चीनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अर्को सम्झौता नेपाल र चीनबीच सगरमाथा संरक्षणबारे भएको छ । राष्ट्रपति विद्या भण्डारीले शनिबार आफ्नो सम्बोधनमा चीनले सगरमाथा संवादमा नेपाल सरकारलाई सहयोग गर्ने आफूले विश्वास लिएको बताएकी थिइन् ।
सम्झौतामा नेपालका विभिन्न सहर र चीनका सहरबीच भगिनी सहरको सम्बन्ध स्थापना गर्ने सम्बन्धी समझदारी पत्र पनि छन् । काठमाडौं महानगरपालिका र चीनको नान्जिङ, बुटवल उपमहानगरपालिका र चीनको सियन सहरबी भगिनी सहरको सम्बन्ध स्थापना गर्ने सम्झौता चीनसँग भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।