महराको बयान अस्पतालमा नै लिइने

काठमाडौं– संसद सचिवालयकै कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा खासै सुधार आएको छैन । उनी बिहिबारदेखि नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । 

स्वास्थ्यमा सुधार नआएपछि र उनी खतरामुक्त नभएकाले उनको बयान अस्पतालमा नै लिने तयारी भइरहेको छ । नर्भिक अस्पतालका एक अधिकारीले फरक धारसँगको कुराकानीमा भने, ‘चिकित्सकहरुले उहाँलाई अस्पतालबाट बाहिर लैजान नमिल्ने बताएका छन् । त्यसैले अस्पतालमा नै उहाँको बयान लिने कि भन्ने विषयमा छलफल भइरहेको छ ।’

सभामुख निवास बालुवाटारबाट नै पक्राउमा परेका महरालाई सुरुमा प्रहरीले सिंहदरबार वृत्तमा पुर्याएको थियो । तर, त्यहाँ उनलाई उच्च रक्तचाप देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनलाई उच्च रक्तचापका साथसाथै सुगर र बाथ रोगले पनि च्यापेको अस्पताल स्रोतले जनाएको छ । 

‘यस्तो अवस्थामा अस्पतालभित्र नै पनि बयान लिन सकिन्छ,’ अस्पतालका ती अधिकारीले बताए, ‘प्रहरी र सरकारी वकिल कार्यालयका अधिकारीसँग यो विषयमा छलफल हुँदैछ ।’ यो छलफल टुङ्गोमा पुगेमा महराको बयान मंगलबार अस्पतालमा नै लिइनेछ ।

यता, प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

हाम्रा कुरा डटकमका पत्रकार अजयबाबु सिवाकोटीसँग कुराकानी गर्दै पीडित रोशनी शाहीले सबैभन्दा पहिले महराले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । पछि उनले बानेश्वर प्रहरी वृत्तमा पुगेर उजुरी दिइन् । शाहीले बारम्बार महरा प्रकरणमा बोली फेरिरहँदा अनुसन्धानमा पनि समस्या भएको प्रहरीले जनाएको छ ।



 

सांसदबाट राजीनामा दिएनन्, के गर्ने भन्नेमा नेकपामा छलफल हुँदै



यता, महराले शाहीमाथि यौन दुव्र्यवहारको गरेको घटना बाहिरिएपछि नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बसेको थियो । बैठकले महराले तत्काल सभामुख र सांसद पदबाट समेत राजीनामा दिन सुझाव दिएको थियो । महराले सभामुख पदबाट त राजीनामा दिए तर उनले सांसदबाट राजीनामा भने दिएका छैनन् । 

संवैधानिक व्यवस्थाअनुसार उनीमाथि आरोप लागेर प्रहरीले अनुसन्धान सुरु गरिसकेपछि उनको पाउने सेवा सुविधा त स्थगित भएका छन् । तर, अझै पनि उनले सांसदको लोगो लगाउन पाउनेछन् । यो घटनामा उनी दोषी पाइए उनी सांसदबाट निलम्बित हुनेछन् । 

अर्कोतिर नेकपाका केही नेताहरुले उनलाई अब पार्टीले सांसदका रुपमा नचिन्ने बताउन थालेका छन् । महराको सांसद पदको विषयमा पार्टीभित्र छलफल सुरु हुन थालेको एक नेताले बताएका छन् । यस विषयमा छिट्टै निष्कर्षमा पुगेर उनको निर्वाचन क्षेत्रमा यसअघि तोकिएको समयमा नै उपनिर्वाचन गर्ने कि भन्नेमा पनि नेकपामा बहस सुरु भएको छ ।

  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १२:२७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया