उपनिर्वाचनका लागि बागलुङमा बढे साढे पाँच हजार मतदाता

बागलुङ– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७ सय १ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदै छ । 

गण्डकी प्रदेशसभा सदस्यअन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडिगाढ गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा  निर्वाचित भएपछि ती स्थान रिक्त भएका हुन् ।

उपनिर्वाचनमा जिल्लाको क्षेत्र नं २ को प्रदेशसभा ‘ख’बाट ३६ हजार ९ सय २६ र बडिगाड गाउँपालिका–२ का एक हजार ७ सय ७५ गरी जम्मा ३८ हजार ७ सय १ मतदाता उपनिर्वाचनमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी विकास पौडेलले बताए । यसअघि प्रदेशसभा (ख) मा ३३ हजार २ सय ४० मतदाता सहभागी भएका थिए । 

उपनिर्वाचनमा भाग लिने दलले निर्वाचन आयोगमा दल दर्ता गरिसकेपछि बागलुङमा चुनावी सरगर्मी बढ्न थालेको छ । ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका रहेको बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा ४२ मतदानस्थल रहनेछन् भने बडिगाड गाउँपालिका–२ मा दुई मतदानस्थल रहनेछन् । 

गण्डकी प्रदेशसभा सदस्यअन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित राष्ट्रिय जनमोर्चा (राजमो)का टेकबहादुर घर्तीको २०७५ सालको मंसिर २६ गते निधन भएको थियो । राजमोबाट जिल्ला नेता घर्तीले तत्कालीन एमाले र माओवादी केन्द्रको समेत समर्थनमा बाम गठबन्धनका साझा उम्मेदवार बनेर चुनाव जितेका थिए । जन्डिसबाट पीडित प्रदेशसभा सदस्य घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।

रिक्त रहेको दुई पदमा उपनिर्वाचन हुने भएपछि यस क्षेत्रमा क्रियाशील नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र राजमोका नेताले पार्टीका जिल्ला र केन्द्रीय स्तरका नेतासमक्ष आफ्नो उम्मेदवारी आकांक्षा प्रस्तुत गर्न थालेका छन् । यसअघि प्रदेशसभामा बाम गठबन्धनबाट विजयी घर्तीका धर्मपत्नी सुनमाया घर्तीलाई मुख्य सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । यद्यपि सुनमायाले यसै वर्ष मात्र स्थायी शिक्षकमा नाम निकालेका कारण पुनः श्रीमानकै उत्तराधिकारीका रुपमा राजनीतिक मैदानमा आउने सम्भावना कमजोर देखिन्छ ।



सुनमायाले निर्णय गर्न नसकेको अवस्थामा राजमोबाट अन्य उम्मेदवार मैदानमा आउन सक्ने सम्भावना छ । विगतको वाम गठबन्धन सहकार्यले निरन्तरताको विषयमा पनि चर्चा परिचर्चा र अनेक अनुमान सुरु भएको छ । 

नेपाली कांग्रेसले भने चारजना स्थानीय नेताको नाम केन्द्रमा सिफारिस गरेर पठाइसकेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार रिक्त रहेको स्थानहरुको उपनिर्वाचनमा चार लाख ५४ हजार १ सय १४ मतदाता रहेको जनाएको छ । जसमध्ये दुई लाख ३३ हजार ४ सय २ महिला र दुई लाख २० हजार ७ सय १० जना पुरुष छन् ।



मंसिर १४ गते प्रतिनिधिसभाको एक, प्रदेशसभाको तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कुल ५२ पदमा निर्वाचन हुँदै छ ।

  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १४:५७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया