चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा राम्रो ढंगले जिम्मेवारी निर्वाह गरेको भन्दै गृहमन्त्री थापाद्वारा सुरक्षाकर्मीको प्रशंसा

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा गरिएको सुरक्षामा खटिएका सुरक्षाकर्मीले धेरै राम्रो ढंगले जिम्मेवारी निर्वाह गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरूको प्रशंसा गरेका छन् ।

नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मले सरकारले दिएको जिम्मेवारी कुशल ढंगले निर्वाह गरेको र उनीहरूकै योगदानका कारण चिनियाँ राष्ट्रपतिको भ्रमण सफल भएको गृहमन्त्री थापाको टिप्पणी छ । 

सोमबार गृह मन्त्रालयमा सुरक्षा निकायका अधिकारीसँगको बैठकमा बोल्दै थापाले सीको भ्रमणका क्रममा प्रदान गरेको सुरक्षाले नेपालको सुरक्षा व्यवस्था विश्वस्तरमै राम्रो रहेको सन्देश प्रवाह भएको बताए । चिनियाँ पक्षले समेत नेपालको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको उनले जानकारी गराए ।

गृहमन्त्री थापाले सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिँदै आगामी दिनमा पनि नेपालबाट चीनविरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन आग्रह गरे । 
गृहसचिव प्रेमकुमार राईले सुरक्षाकर्मीहरुलाई धन्यवाद दिँदै सफल सुरक्षा व्यवस्थापनका लागि यो अनुभवले आगामी दिनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की, नेपाली सेनाका उपरथी शशीचन्द्र बहादुर सिंहलगायतको सहभागिता थियो । 





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १५:४७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया