मनसुन सकियो, चिसो बढ्यो

काठमाडौं– नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम सुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए । ‘नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ’, मौसमविद् नगरकोटीले भने ।

पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण उपत्यकासहित मुलुकभर चिसो बढ्ने गरेको महाशाखाले जनाएको छ । यस वर्ष मनसुन औसतभन्दा १० दिन ढिलो भित्री औसतभन्दा १९ दिन ढिलो बाहिरिएको थियो । सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ अर्थात् असोज ६ गते नै मनसुन बाहिरिने औसत समय हो । मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्नै मौसमविद्को भनाइ रहेको छ । 

सिजनल इफेक्टले न्यूनतम तापक्रम तलमाथि भइरहने बताइएको छ । तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकाको समयमा चिसो हुने गरेको छ । महाशाखाले अबको केही दिन बिहानीको समयमा हुस्सु र कुहिरोका कारण हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकमत तापक्रम २७ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । मंगलबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । 





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १४:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया