आन्तरिक पर्यटकले पोखरा भरिभराउ

कास्की– उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका बेगनास तथा रुपालगायत तालतलैयामा यतिखेर आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । दशैँ तिहारको बीचमा विभिन्न स्कूल तथा क्याम्पसमा बिदा भएका कारण पनि देशका विभिन्न भागबाट आउने पर्यटकले यहाँको पर्यटन चलायमान बनाएको हो ।

दशैँ बिदा सुरु भएलगत्तै विभिन्न भागबाट पोखरा आउने पर्यटकका कारण यहाँका पर्यटन व्यवसायीलाई यो यामको उपयोग गर्न भ्याइनभ्याइ छ ।  
विगतका वर्षमा यस याममा विदेशी पर्यटककको पनि राम्रै चाप देखिने गरेकामा यस वर्ष भने उक्त संख्या उत्साहजन देखिएको छ । 

पोखराको लेकसाइट र आसपासमा यतिखेर विदेशीभन्दा आन्तरिक पर्यटकको संख्या धेरै देखिएको र विदशी पर्यटक पनि सहरभन्दा गाउँतर्फ आकर्षित बनेको स्थानीयको भनाइ छ । दशैँको बिदा सुरु भएयता लेकसाइट क्षेत्रमा आन्तरिक पर्यटकको चाप उत्साहजन देखिएको छ । यहाँका होटेलमा झण्डै ९५ प्रतिशतसम्म आन्तरिक पर्यटकले भरिएको छ । 

दशैँ–तिहारको समयमा धार्मिक रुपमा आउने भारतीय पर्यटकका कारण पनि पोखराको पर्यटन चलायमान हुने गरेको छ । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेपछि भारतका विभिन्न स्थानबाट मुक्तिनाथ पुग्ने पर्यटकको संख्या ह्वात्तै बढेको छ । मुक्तिनाथ जानका लागि पोखरा अनिवार्य आउनुपर्ने भएका कारण पनि ती पर्यटक मुक्तिनाथ जाँदा र फर्कंदा केही दिन पोखरामा बिताउने गरेका छन् । 
    
इसं २०१७ मा नौ लाख ४० हजार विदेशी पर्यटक नेपाल आएकामा २०१८ मा ११ लाख ७३ हजार पर्यटक आएका थिए । पछिल्ला वर्षमा दशैँका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैँ पेश्की एवं बोनस दिने गरेका कारण पनि अधिकांशले यसको उपयोग घुमफिरमा गर्ने गरेका छन् ।
    
तालबाराहीसहित पोखराका विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीयस्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दर्शनीय स्थल हुन् । त्यस्तै लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदेजस्ता तालले पनि आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ ।





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १४:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया