एजेन्सी– नोबेल पुरस्कार समितिले यो वर्षको अर्थशास्त्रको नोबेल पुरस्कार भारतीय मूलका अभिजित बनर्जी, एस्टेयर ड्युफ्लो र माइकल क्रेमरलाई संयुक्त रुपमा दिने घोषणा गर्यो ।
अर्थशास्त्रमा नै नोबेल पुरस्कार पाएका अमत्र्य सेनले यसलाई निकै राम्रो विकल्प भएको बताएका छन् । अर्मत्य सेनले पनि यसअघि नोबेल पुरस्कार पाउँदा गरिबी उन्मूलनका लागि काम गरेका थिए ।
अभिजित बनर्जीले चाहिँ यसबारे भनेका छन्, ‘मानिसहरु गरिबीबारे निकै धेरै कुरा गर्छन् । यसबारे प्रश्न पनि उठाउँछन् ।’ उनले गरिबीको समस्या सुल्झाउनका लाग ससाना विषयमा ध्यान दिनु पर्ने बताएका छन् । ती हुन्– शिक्षा, पोषणलगायतका काम ।
यी तीनले पुरस्कार पाएपछि नोबेल समितिले आफ्नो वेबसाइटमा एउटा ग्राफिक प्रकाशन गरेको छ । त्यसमा दालका कारण यी तीनले गरिबी हटाउन कसरी खेल खेले भन्ने विषयमा उल्लेख गरिएको छ ।
यो खासमा भारतको राजस्थानमा गरिएको एक अध्ययनबाट बाहिर आएको कुरा हो । एस्टेयरका अनुसार राजस्थानमा पूर्ण रुपमा खोप लगाइएका बच्चाहरुको संख्या निकै कम छ । त्यहाँ खोप लगाउने कर्मचारीहरु बच्चाहरुसम्म पुग्न नसकेको यी तीनको एक अध्ययनले पत्ता लगाएको थियो ।
त्यतिमात्र होइन, त्यहाँका मानिसहरु पनि प्राथमिक स्वास्थ्य केन्द्रसम्म पुगेका थिएनन् । किनकि उनीहरुबाट यस्ता केन्द्रहरु निकै टाढा थिए, पूरै दिन त्यसका लागि खर्चनु पथ्र्यो । त्यसैले उनीहरुले बच्चालाई खोप लगाउन नै छोडिदिएका थिए ।
यही विषयमा यी तीन अर्थशास्त्रीले नयाँ प्रयोग गर्ने भए । उनीहरुले एउटा स्वयंसेवी संस्था सेवा मन्दिरको सहयोग लिए । उनीहरु खोप लगाउनु पर्ने आवश्यकतालाई बढाउन चाहन्थे । त्यसैले उनीहरुले १२० गाउँलाई छाने र ती गाउँहरुलाई तीन श्रेणीमा बाँडे ।
पहिलो समूहमा परेका गाउँका मानिसहरुलाई उनीहरुले प्राथमिक स्वास्थ्य केन्द्र गएर खोप लगाउन सूचना बाँडे ।
दोस्रो समूहमा परेका गाउँका मानिसहरुलाई उनीहरुले मोबाइल क्लिनिकको प्रयोग गरेर गाउँहरुमा खोप लगाउन सहयोग गरे ।
अनि तेस्रो समूहका गाउँहरुमा उनीहरुले मोबाइल क्लिनिकको प्रयोग मात्र गरेनन्, खोप लगाउने परिवारलाई एक किलो दाल पनि दिने भए ।
जुन गाउँमा प्रोत्साहनका रुपमा दाल पनि बाँडिएको थियो, त्यहाँ खोप लगाएका बच्चाहरुको संख्या ३९ प्रतिशतसम्म पुग्यो । तर, दाल नभएका गाउँहरुमा यसको संख्या आधाभन्दा पनि कम थियो ।
त्यसैले यी तीन अर्थशास्त्रीले निष्कर्ष निकाले– गरिबी हटाउनका लागि गरिब परिवारलाई थोरै थोरै भए पनि आर्थिक प्रोत्साहन गर्दा चमत्कारिक फाइदा हुन्छ । गरिबी हटाउन ठूला कुरा र मोटो रकमको आवश्यकता नपर्ने उनीहरुको निष्कर्ष थियो ।
यही कारणले नै उनीहरुले अर्थशास्त्रमा नोबेल पुरस्कार जितेका पनि हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।