काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ । एनआरएनएका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले भने सो सम्मेलन बहिस्कार गरेका छन् ।
एनआरएन सम्मेलनमा अनावश्यक राजनीतिक हस्तक्षेप भएको भन्दै उनले बहिस्कार गरेका हुन् । संघको स्थापनाको उद्देश्यविपरीत राजनीतिक ध्रुवीकरण बढेको उनको आरोप छ । महतो २००३ मा काठमाडौंमा सम्पन्न पहिलो विश्व सम्मेलनबाट संस्थापक अध्यक्षमा चयन भएका थिए ।
विभिन्न देशमा रहेका नेपालीलाई एकताबद्ध गर्ने र उनीहरुको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले सं३ स्थापना भएको हो । संघलाई राजनीतिक संगठनजस्तो बनाउन नहुनेमा जोड दिँदै उनले भनेका छन्, ‘सबै क्षेत्रमा राजनीतिक दबदब छ, कमसे कम एनआरएनए त्यसबाट मुक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’
संघको महाधिवेशनमा वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त अध्यक्षको प्रतिस्पर्धामा छन् । आचार्य प्रजातान्त्रिक समूहबाट उम्मेदवार बनेका हुन् भने पन्तले वामपन्थी समूहको प्रतिनिधित्व गरेका छन् ।
होटेल हायातमा सुरु भएको सम्मेलनमा ८१ देशका २५ सय प्रतिनिधि सहभागी छन् । दुई दिने सम्मेलनले आगामी दुई वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।