सरकारको कामबारे एक वर्षमै परिणाम नखोज्न सञ्चारमन्त्रीकाे आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही वर्षमै मुलुकमा आम रुपमा परिवर्तनको आभाष हुँदै जाने बताएका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल युनाइटेड फुटबल एसाेसियसन (पुफा) द्वारा आयोजित १० दिने पाँचखाल महोत्सव बुधबार शुभारम्भ गर्दै उनले सरकार हाल विकासको महाअभियानमा रहेकाले केही वर्षमै देशमा परिवर्तनको महसुस हुने जिकिर गरेका हुन् । 

मन्त्री बाँस्कोटाले मुलुकको परिवर्तनलाई आत्मसात् गर्न सक्ने सामर्थ्य पाँचखालसँग रहेको बताए । उनले भने, ‘पाँचखाल अन्तरराष्ट्रिय कनेक्टिभिटीको प्रमुख नाका हो, विकासोन्मुख पाँचखाललाई अन्तरराष्ट्रिय क्षेत्रमा  पनि अघि बढाइरहेका छौँ ।’ सरकारको यो शिलान्यासको वर्ष भएको र अर्को वर्ष उद्घाटनको वर्ष भएको चर्चा गर्दै मन्त्री बाँस्कोटाले वर्तमान सरकारको कामबारे एक वर्षमै परिणाम नखोज्न आग्रह गरे ।

उनले महोत्सवलाई मेला, पर्व, पराम्परा र संस्कृतिको रुपमा विकसित गर्दै जानुपर्नेमा जोड दिए । ‘मेला तथा महोत्सवले स्थानीय परम्परा, सांस्कृतिक रीतिरिवाज तथा उत्पादनलाई प्राथमिकता दिनुपर्दछ र प्रचारप्रसारमा ल्याउनुपर्दछ,’ मन्त्री बाँस्कोटाले भने, ‘तराईमा हाट बजार तथा पहाडमा जात्रा परम्परागत रुपमा चलिआएकाले मेलाको सम्भावना भोलिका दिनमा अझै बढ्छ ।’

कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतम, पाँचखाल नगरपालिका प्रमुख महेश खरेललगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए । आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित उक्त महोत्सवमा २० कृषि उत्पादनका स्टलसहित स्थानीय समुदाय तथा व्यापारिक प्रयोजनका १०५ स्टल रहेको महोत्सव संयोजक एवं आयोजक संस्थाका सचिव जीवन नेपालले जानकारी दिए । उद्घाटनअघि झाँकीसहितको र्यालीले पाँचखाल नगर परिक्रमा गरेको थियो । महोत्सव एक लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १४:१९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया