काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै उनले भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न सबै लाग्नुपर्ने बताए ।
कानुनी राज्य पालना गर्न र सुशासन कायम सरकार लागेको उल्लेख गर्दै उनले भने, ‘केही पनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला, तिनीहरुले आँखा चिम्लेर हेरेको हुनसक्छ, आँखा खोलेर हेर्दा जनताका लागि धेरै काम अगाडि बढेका छन् ।’
वर्तमान सरकारले वृद्धभत्ता वृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल निर्माणको सुरुवात, द्रुत मार्गको निर्माण, पेट्रोलियम पाइपलाइन सुरुआत, सयौँ पुल निर्माणलगायत जनताको काम गरेको भन्दै उनले भने, ‘कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएका छन् ।’
नेपालको विविधताको एकतालाई कसैले विखण्डन गर्न नसक्ने उल्लेख गर्दै उनले एकताको बलको आधारमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन उनले आह्वान गरे । बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा नेकपाले बुधबार शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम राखेकाे हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।