बेलायतमा जारी सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनालाई स्वर्णपदक

बेलायत– संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्णपदक प्राप्त गरेको छ । बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले स्वर्णपदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट प्रमुख सेनानी अशिमदेव गुरुङको नेतृत्वमा १० जनाको सैनिक टोली असोज ६ गते बेलायत प्रस्थान गरेको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्यांकन गरिन्छ । 

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले दुई दिनभित्रमा हतियार तथा करिब ५० पाउण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने गर्छन् । सो क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन, विष्फोटक पदार्थ पत्ता लगाउने क्षमतालगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेत विभिन्न दक्षताको परीक्षण गरिन्छ । 

उक्त अभ्यासमा बेलायती फौजका १ सय ६ र नेपालसमेत अन्य ३४ देशका गरी कुल १ सय ४० सैन्य टोलीको सहभागिता रहेको निर्देशनालयले जनाएको छ । नेपाली सेनाको प्रतिनिधित्व श्री विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका टोलीले गरेको थियो । 

प्रतियोगितामा नेपाली सेनाको पेसागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्ति सम्मिलित टिम सहभागी हुने गर्दछन् । सन् १९६० बाट वार्षिक रुपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस्तो अभ्यास प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ ।





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १६:१९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया