२५ वर्षकै उमेरमा देहत्याग गरेका विश्वप्रसिद्ध कवि जोन किट्स, जसले जीवनभर जस पाएनन्

मृत्यु अवश्यम्भावी छ । जुनसुकै प्राणीले जन्म लिएपछि उसले मृत्यु वरण गर्नैपर्छ । यो संसारको शाश्वत नियम हो । मृत्युको अस्तित्वले जीवनको पुष्टि गर्छ । फरक यत्ति हो, कसैले यो धर्ती चाँडै छाडेर जान्छन् त कोही पट्यारलाग्दो बुढ्यौलीमा बाँचिरहेका हुन्छन् । तर, सत्य यो पनि हो कि अपावादबाहेक मान्छे मर्न चाहँदैन । 

जीवन र मृत्युबारे अनेक किताब लेखिएका छन् । अनेकौँ कविता कोरिएका छन्, दर्शन लेखिएका छन् । प्रसिद्ध कवि हेनरी स्कोटले मृत्युबारे लेखेको एउटा कविता विश्वप्रसिद्ध बन्यो । ‘मृत्यु केही पनि होइन’ शीर्षकको कवितामा उनी लेख्छन्– मृत्यु केही पनि होइन, केबल एक कोठाबाट अर्कोमा सरेजस्तै हो । पूर्वीय सभ्यताले पनि मर्नुलाइ चोला फेर्नु हो भनेर मानेको छ । जसले जसरी व्याख्या गरे संसारले मृत्युलाई एक दुःखद् घटनाका रूपमा स्वीकार गरेको छ । 

‘यहाँ त्यो छ, जसको नाम पानीमा लेखिएको थियो ।’ 

यो वाक्य विश्वप्रसिद्ध कवि जोन किट्सको चिहानमाथि लेखिएको पंक्ति हो । जीवनको निसारताबारे राम्ररी बुझेका उनी आफैँले ज्युँदो छँदै आफ्नो मृत्युपश्चात् ग्रेभ–स्टोनमा लेख्नका लागि यो वाक्य रोजेका थिए । 

२५ वर्षको कलिलो उमेरमै यो संसार त्यागेका किट्स, अंग्रजी साहित्यका प्रमुख स्वच्छन्दवादी कविमध्ये एकमा गनिन्छन् । साहित्यमा रुचि भएका मानिसका लागि, जोन किट्स नौलो नाम होइन । 

सन् १७९५ को अक्टोबर ३१ मा लन्डनको एक सामान्य परिवारमा जन्मेका किट्सका बुबा तबेलामा घोडाको हेरचाह गर्ने काम गर्थे । एक दिन उनका पिता थोमस सधैँझैँ तबेलामा काम गर्दै थिए । अचानक एउटा घोडाले आतंक मच्चाउन थाल्यो । घोडा तह लगाउन गएका थोमसका लागि त्यो घोडा काल बनेर आयो । घोडाको कुल्चाइमा परेर उनको घटनास्थलमै मृत्यु भयो । त्यतिवेला जोन आठ वर्षका मात्रै थिए । पिताको निधनले उनको कलिलो मस्तिष्कमा गहिरो प्रभाव पा¥यो । 



जीवनको क्षणभंगुरताको पहिलो ज्ञान थियो यो उनका लागि । सोही घटनापछि उनले मानव जीवनका दुःख र पीडाको बोध गरे । बाबुको निधनपछि उनको परिवारको आर्थिक स्थिति दयनीय बन्दै गयो । उनकी आमाले दोस्रो विवाह गरिन् । 

जोन टुहुराका लागि खोलिएको ‘इनफिल्ड एकेडेमी’मा भर्ना भए । बिस्तारै उनी स्कुलका हेडमास्टर जोन क्लार्कसँग नजिकिँदै गए । जोनको पढाइप्रतिको रुचि देखेर क्लार्क छक्क पर्थे । उनै क्लार्कले जोनलाई साहित्यमा लाग्न प्रेरित गरे । त्यसवेला क्लार्क आफैँ पनि कविता लेख्थे । 



घरको बिग्रँदो आर्थिक अवस्था सुधार्न जोनले सो एकेडेमी छाडेर लन्डन हस्पिटलमा चिकित्सासम्बन्धी अध्ययन गरे । औषधि बनाउने लाइसेन्स निकाले । समस्यासँग जुध्दाजुध्दै पनि उनले कविताप्रतिको मोह भने त्याथ्न सकेका थिएनन् । चिकित्साशास्त्र पढ्दै गर्दा पनि उनले कविता लेख्न छाडेनन् । 

सन् १८१७ मा उनको पहिलो ‘जोन किट्का कविता’ कवितासंग्रह प्रकाशनमा आयो । जुन कवितासंग्रह ले हन्ट नामबा व्यक्तिले प्रकाशन गरिदिएका थिए । हेडमास्टरका छोरा कोउडेन क्र्लाकले जोनलाई ले हन्टसँग भेटाइदिएका थिए ।  

जोनको कविता लेखन शैली त्यो समय चलेका प्रमुख प्रकाशनगृहको आलोचनाको तारो बन्यो । यो उनका प्रकाशक हन्टको कारण पनि थियो । ब्ल्याकउड प्रकाशनले त उनलाई नै लक्षित गरेर आलोचनात्मक लेख नै छाप्यो । यसरी उनको लेखनयात्रा सुरुदेखि नै विवादास्पद बन्न पुग्यो । हन्ट आफ्नो कट्टरपन्थी सोच र खरो लेखनशैलीका कारण  त्यसअघि जेल पनि बसेर आएका थिए । 

जोनले १८१७ मा चार हजार हरफ लामो महाकाव्य, ‘इन्डेमियन’ लेखे । जसमा देवी चन्द्रमासँग प्रेम गर्ने एक सुन्दर युवकको कथा थियो । जुन कृति ग्रिकको पौराणिक कथामा आधारित भएर स्वच्छन्द भावमा लेखिएको थियो । साहसिक र खरो लेखनशैलीका कारण आलोचकले उनको लेखनलाई अपरिपक्व र भ्रामक भने । उनका लागि दुनियाँ यति कठोर बन्यो कि ज्युँदो छँदासम्म जोनले आफ्नो कला र चेतनाको जस कहिल्यै पाएनन् । 

तर, अहिले विश्व–साहित्यजगत्मा उनको नाम सबैभन्दा प्रभावशाली कविका रूपमा लिइन्छ । आज उनलाई अंग्रेजी साहित्यमा, स्वच्छन्दवादी धाराका एक महान् कविका रूपमा विश्वभरि चिनिन्छ । 

पौराणिक सभ्यतामा लेखिएका कवितालाई मात्र कविता भनिने युगमा उनले वास्तविक जीवनका घटना र पात्रलाई लिएर कविता लेखेका थिए । सामान्य मानिस र उनीहरूको जीवनशैलीमा कविताको वास्तविक सुन्दरता लुकेको हुन्छ भन्ने उनको मान्यता थियो । जोन कवितामा परम्परागत शैलीको विरोधी थिए । उनको कवितामा यो कुरा प्रस्ट झल्किन्छ ।
 
१८१८ को गर्मीमा उनी पैदल भ्रमणका लागि उत्तरी बेलायततिर निस्किए । सोही यात्राको परिश्रम र दौडधुपका कारण उनलाई टिबीले समात्यो । यसअघि उनका भाइ टोमको पनि त्यही साल टिबीकै कारण मृत्यु भएको थियो । चेतना जति बलियो भए पनि, टिबीले उनको शरीर गाल्दै लग्यो । डाक्टरको सल्लाहबमोजिम उनी मौसम बदल्नका लागि इटाली पुगे । त्यसको एक वर्ष नबित्दै, १८२१ मा अत्यधिक रक्तश्राव र अक्सिजनको कमीका कारण उनको मृृत्यु भयो । 

जीवनका अन्तिम घडी ती महान् कविका लागि नारकीय थिए । उनले बिरामी अवस्थामा पनि पोषिलो खानासम्म पनि खान पाएनन् । गरिबी, दुःख र बिछोडको पीडा उनलै बाँचुन्जेल भोगिरहनुपर्यो । उनको पीडा यति सम्म थियो कि, एकपटक उनले आफ्नो डाक्टरलाई करुण स्वरमा भनेका थिए– मेरो यो मरणासन्न अस्तित्व अभैm कति लामो भोग्नु छ मैले ?’

उनको जीवनमा प्रेम पनि नआएको होइन । जीवनका अन्तिम वर्षहरूमा पाएको प्रेमको उनले उपभोग गर्नै पाएनन् । फेनी ब्राउन, नामकी एक युवतीसँग जोन प्रेम सम्बन्धमा परेका थिए । उनको छोटो पे्रम जीवनको मिठास उनका कवितामा पनि देखिन्छ । 

उनले तीनवटा कृति छपाए । तर, उनको जीवनकालमा, उनका जम्मा २०० वटा किताब मात्र बिके । उनको अन्तिम कवितासंग्रह १८२० मा प्रकाशित भयो । 

अहिले उनका कविताका पाठक गम्दा हुन्, ‘यस्ता कवि लामो समय बाँचेका भए अझै कति सुन्दर कविता छाडेर जान्थे होला ।’

यसरी दुःखै–दुःखको बीचमा, विश्वसाहित्यको बगैँचामा जोन किट्स नामको एउटा फूल फुल्यो । काँडाहरूबीच गुलाब फुलेझैँ । र राम्ररी फक्रन पनि नपाई ओइलिएर झर्यो ।

जोनका कविताले आज पनि विश्वभरिका कविहरुलाई पे्ररणा दिइरहेछ । पाठकहरूको मन जितिरहेछ । मान्छे आफ्ना सत्र्कमले मरेर पनि बाँचिरहन सक्दो रहेछ ।

सायद, मृत्युको सबैभन्दा ठूलो हार यही हो । 

  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार ०:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया