संघीय नीतिका कारण शिक्षा क्षेत्र तहसनहस भयाे: मुख्यमन्त्री राउत

महाेत्तरी– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा प्रदेश सरकारमातहत हुनुपर्ने बताएका छन् । बुधबार महोत्तरीमा छात्राहरूलाई साइकल वितरण गर्न आएका मुख्यमन्त्री राउतले हाल शिक्षालाई स्थानीय निकाय र केन्द्र सरकारमातहत राखेर प्रदेश सरकारलाई बाइपास गरिएको भन्दै असन्तुष्टि पोखे । 

अहिलेको मूलभूत आवश्यकता रहेको शिक्षा क्षेत्रलाई हेर्नबाट प्रदेश सरकारलाई वञ्चित गरिएको बताउँदै उनले भने, ‘शिक्षाको अधिकार पूर्णतः प्रदेश सरकारलाई सुम्पिन म आग्रह गर्छु ।’

संघीय नीतिका कारण शिक्षा क्षेत्र धराशायी हुँदै गएकाले यसको उत्थानका लागि प्रदेश  सरकारमातहत आउनुपर्ने मुख्यमन्त्री राउतको तर्क छ । स्थानीय निकायलाई जिम्मा दिएको मावि तहसम्मको शिक्षामा समेत संघीय सरकारले बखेडा झिकेर समस्या निम्त्याएको उनले आरोप लगाए । 

‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममार्फत प्रदेश सरकारले महिलामा शैक्षिक क्रान्ति ल्याउने प्रयास गरिरहेको मुख्यमन्त्री राउतले दाबी गरे । ‘प्रदेश सरकारकै प्रयासले महिलाको आरक्षणमा गरिएको ५० प्रतिशतको सुनिश्चितताले भोलिका दिनमा मधेसका छोरीसमेत उच्च पदमा पुग्नेछन्,’, उनले भने, ‘मधेसका छोरीहरूको उज्ज्जल भविष्यका लागि प्रदेश सरकार सदैव सकारात्मक सोचका साथ अघि बढिरहेको छ ।’ 

मुख्यमन्त्री राउतले पिपरा गाउँपालिकास्थित सहोडवा मावि, राम अयोध्या मावि, प्रकौली मावि र एकडारा माविका कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरेका थिए ।  





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार ११:१०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया