विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगिताको झण्डोत्तोलन

बेइजिङ– सातौँ विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा सहभागी राष्ट्रको झण्डोत्तोलन भएको छ । इन्टरनेसनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम)ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ । महासेनानी शशिकिरण रायमाझीको नेतृत्वमा नेपाली खेलाडी झण्डोत्तोलन समारोहमा मार्चपास गर्दै सहभागी भएका थिए ।

समारोहमा नेपालीसहित साउदी अरोबिया, बेलारुस, चिली, मंगोलिया र स्लोभानियाका राष्ट्रिय झण्डा एकैसाथ फहराइएको थियो । चिनियाँ जनमुक्ति सेनाले सैनिक खेलकुद गाउँमा आयोजना गरेको यस प्रतियोगिताको मुख्य नारा ‘सैनिक गौरव र विश्व शान्ति’ रहेको छ ।

प्रतियोगितामा भाग लिन बुधबार राति सबै नेपाली खेलाडी पुगेका हुन् । शुक्रबार भव्य समारोहबीच उद्घाटन हुने उक्त प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ । नेपाली सेनाले आर्चरी, ब्याडमिण्टन, बक्सि¬ङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती मोर्डन पेन्टालन र सुटिङमा प्रतिस्पर्धा गर्नेछ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विशिष्ट पाहुनाका रुपमा विश्व सैनिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिनेछन् ।

मस्कट ‘विङविङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौँ शान्ति खेलकूद नामाकरण गरिएको छ । नेपालसहित विश्वका १ सय ५ मुलुकका १० हजार ७ सय १९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकुद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । 

यस खेलकुद प्रतियोगितालाई ओलम्पिकको दोस्रो ठूलो खेलकुद महोत्सवका रुपमा लिने गरिन्छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । यो प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३ सय २८ वटा प्रतिस्पर्धा हुनेछन् । 

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । विश्व शान्ति कार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजका रुपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकुद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ हो । 



उहान सहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालन हुने सबै स्थान मोटरबाट ४० झण्डै मिनेटभित्रै पुग्न सकिने दूरीमा रहेका छन् । ट्राइथलन भने ७९ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ । 

प्रतियोगिताका विजयी खेलाडीलाई प्रदान गरिने पदकलाई ‘शान्ति र मैत्रीका तारा’नाम दिइएको छ भने ट्रफिलाई ‘शान्तिको प्रतिक’को संज्ञा दिइएको छ । 



  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार १६:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया