कांग्रेसलाई उपसभामुख दिनु उपयुक्त : नेकपा वरिष्ठ नेता खनाल

काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखमध्ये एउटा पदमा आफ्नो दलको दाबी रहने बताइरहेका वेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले त्यसको समर्थन गरेका छन् । 

केही दिनअघि कांग्रेसवरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख र उपसभामुखमध्ये एउटा पदमा आफ्नो दलको दाबी रहने बताएका थिए । उनको भनाइलाई समर्थन गर्दै नेकपाका वरिष्ठ नेता खनालले प्रतिनिधिसभाको उपसभामुख पद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिनु उपयुक्त हुने धारणा राखेका छन् । 

वरिष्ठ नेता खनालले भने, ‘प्रमुख विपक्षीसँग राम्रो सम्बन्ध राखेर जानु राम्रो हुन्छ ।’ यद्यपि उनले यसबारे औपचारिक छलफलमा जे निष्कर्ष हुन्छ, त्यसअनुसार नै गरिने बताएका छन् । प्रतिपक्षीसँग र अरू पार्टीसँग पनि सहमति गरेर जानुपर्नेमा नेता खनालको जोड छ । 

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले यसअघि नै सभामुख आफ्नै पार्टीले राख्ने बताएका थिए । 

अहिले नेकपाबाट निर्वाचित शिवमाया तुम्बाहाङफे उपसभामुख छिन् । संविधानमा फरक लिंग र पार्टीबाट सभामुख र उपसभामुख हुनुपर्ने व्यवस्था छ । यदि नेकपाले सभामुख लिने हो भने सो पार्टीबाट निर्वाचित उपसभामुख तुम्बाहाङफेले राजीनामा दिनुपर्ने हुन्छ ।

त्यसो त नेकपाका एक अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै असम्भव देखिने कुरा पनि राजनीतिक पार्टी र नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउन सकिने धारणा राखेका थिए । शान्ति प्रक्रिया र संविधानसभा चुनावसम्म कांग्रेस र गिरिजाप्रसाद कोइरालासँग गरेको सहकार्यको सम्झना गर्दै उनले भनेका थिए, ‘नेपाली कांग्रेसको यो शुभकामना आदान–प्रदान कार्यक्रममा आउँदा मलाई सहयात्रीकै बीचमा आएको महसुस हुन्छ । हाम्रो सहयात्रा जारी रहनेछ । र, सहयात्रीकै रूपमा हामी निरन्तर अगाडि बढिराख्नेछौँ ।’ 



संविधानको व्यवस्था पछ्याउन नेकपाले सभामुख र उपसभामुखमध्ये एउटा पद कांग्रेसबाहेकका पार्टीलाई पनि दिन सक्छ । त्यस सम्बन्धमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘त्यस्तोमा बोल्ने ठाउँ त संविधानको अक्षरले दिँदैन । तर, त्यसको भावना संसद्‍मा सत्तापक्षले विपक्षीलाई पनि सँगै लिएर जानुपर्छ भन्ने हो ।’

कतिपयले सत्तापक्षप्रति आक्रामक देखिएको कांग्रेसलाई नजिक ल्याउन सत्तापक्षले कांग्रेसलाई उपसभामुख दिएर उदारता देखाउन सक्ने ठानेका छन् ।



अर्काथरीका अनुमानमा संविधान संशोधनको माग पूरा नभएको भन्दै प्रधानमन्त्रीमाथि फेरि दबाब बढाउने मनस्थितिमा देखिएको सत्ताधारी समाजवादी दललाई मनाउन पनि नेकपाले उसैलाई उपसभामुख दिन सक्ने सम्भावना पनि रहन्छ ।

तर ती प्रक्रिया संसद्‍को हिउँदे अधिवेशनको आह्वान भएपछि मात्रै सुरु हुनेछ ।

  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार १२:३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया