गुटैगुटको जालो जसले थप्दै छ कांग्रेसमा एकपछि अर्को समस्या

काठमाडौं– नेपाली कांग्रेसका नेताहरु अब विस्तारै १४ औं महाधिवेशनको तयारीमा जुट्न थालेका छन् । यसका लागि नेपाली कांग्रेसका नेताहरुले आआफ्ना गुटहरुलाई सक्रिय बनाउन थालिसकेका छन् । अनि गुट सन्तुलनमा लाग्न ठूला नेता कम्मर कसेर लागेका छन् ।

सभापति शेरबहादुर देउवामात्र होइन, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, शशांक र शेखर कोइराला पनि आआफ्नो गुटलाई सहज बनाएर आगामि निर्वाचनमा नेतृत्व आफ्नो पोल्टामा पार्ने आकांक्षा बढिसकेको छ ।

तर, गुटको जालोलाई अझ बढी सन्तुलित बनाएर अगाडि बढाइरहेका छन्, सभापति शेरबहादुर देउवा । 

देउवाले कोइराला विरासतको जालो तोडेको श्रेय आफूले लिँदै यसपटक महाधिवेशनबाट पनि आफैं नेतृत्वमा आउने तयारी सुरु गरिसकेका छन् । अर्कोतिर, पौडेल यसपटक आफूले सभापतिमा जसरी पनि जित्ने दाउमा छन् । 

‘देउवालाई तुलनात्मक रुपमा सहज देखिन्छ,’ कांग्रेसमा देउवानिकट एक नेताले भने, ‘अहिले नेपाली काङ्ग्रेसको सबैभन्दा सिनियर नेता नै उहाँ हो । उहाँका समकक्षी नेताहरु कोही नहुनु पनि उहाँलाई फाइदा पुग्ने कुरा भएको छ ।’

तर, शशांक र शेखर कोइराला दुवै र सुजाता कोइरालालाई समेत आफ्नो पक्षमा ल्याएर सभापतिमा आफूले जित्ने योजना पौडेलले बनाइसकेका छन् । ‘कोइरालाहरु, डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायतले समर्थन गर्दा र सिटौलालाई पनि आफ्नो पक्षमा पार्दा चाहिँ पौडेलको सम्भावना पनि बढी देखिन्छ,’ ती नेताले भने, ‘अहिले देउवाको कार्यकालमा भएका कमजोरीहरुलाई आफ्ना प्रमुख अजेन्डा बनाउने पौडेल पक्षको योजना बुझिएको छ । त्यसैले पौडेलले पछिल्लो समय आफ्नो गुटका नेताहरुलाई भेट्ने क्रम पनि बढाएका छन् ।’



यसअघि गुटगत व्यवस्थापनमा चुकेकाले हार व्यहोर्नु परेको पौडेललाई उनी निकट नेताहरुले बताउँदै आएका छन् । पछिल्लो समय उनी बारम्बार डा. महतको निवासमा पुगेर आफूलाई समर्थन गर्ने नेताहरुलाई भेटिरहेका छन् । अहिले पौडेल पक्षका नेताहरुको जमघट हुने स्थान नै डा. महतको निवास हुन पुगेको स्रोत बताउँछ । 

तर, अर्कोतिर देउवाले विमलेन्द्र निधि, विजयकुमार गच्छदारलगायतका नेताहरुसँग बारम्बार छलफल बढाएका छन् । स्रोतका अनुसार देउवा पक्षका नेताहरु पछिल्लो समय कुपन्डोलमा रहेको समिट होटलमा बारम्बार भेटिरहेका छन् । 



अर्कोतिर, १४ औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा तेस्रो पक्ष सिटौला पक्ष पनि निकै तात्न थालेको छ । उनीहरुले १३ औं महाधिवेशनमा आफ्नो उपस्थिति बलियो भएको भन्दै त्यसलाई यसपटक ‘क्यास’ गर्ने योजना बनाइरहेका छन् ।

यी सब गुटको जालोका कारण नेपाली कांग्रेसमा समस्या पछि समस्या थपिएका छन् । प्रतिपक्षको भूमिका कमजोर देखिनुका साथसाथै पछिल्लो समय एउटै घटनामा पनि कांग्रेसका विभिन्न नेताका विभिन्न विचार बाहिर आउन थालेका छन् । अर्कोतिर, अहिलेसम्म कांग्रेसले प्रतिनिधिसभा, प्रदेश सभा, स्थानीय तहका समिति, प्रदेश समिति गठन गर्न सकेको छैन । त्यस्तै सक्रिय सदस्यताको विषयमा पनि अझै समस्या कांग्रेसमा देखिन्छ । अनि अहिलेसम्म कांग्रेसले केन्द्रमा कांग्रेसका विभिन्न समिति तथा सक्रिय सदस्यहरुको रेकर्डसमेत राम्रोसँग राखिएको छैन ।

 

कांग्रेसका कमजोरी देउवाको ‘थाप्लो’मा

यसपटक कांग्रेसमा रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूह दुवैले योबीचमा भएका कमजोरी सबै देउवाका कारण भएको सन्देश तल्लो तहसम्म पुर्याउन ध्यान दिइरहेका छन् । यसो गर्दा आफ्नो पक्ष अझ बलियो हुने र देउवा पक्षका केही नेताहरुलाई पनि आफ्नो प्रभावमा तान्न सकिने विश्वास उनीहरुले लिएका छन् । 

‘कांग्रेसका गल्ती र कमजोरीलाई सबै देउवाको थाप्लोमा राखेर अगाडि बढ्ने यी दुवै समूहले योजना बनाएका छन्,’ कांग्रेसमा देउवा निकट एक नेताले बताए, ‘तर, पार्टीका कमजोरी सबै सभापतिका मात्र हुँदैनन् । यस्तो योजनाले उनीहरुलाई त्यति सफल बनाउँदैन ।’

 

गुट व्यवस्थापनमा देउवा पर्फेक्ट, पौडेल र सिटौला कमजोर

कांग्रेसमा गुट व्यवस्थापनमा देउवा निकै सफल मानिन्छन् । उनको पक्षमा भएका नेताहरु कोही पनि उनको समकक्षी नहुनुको फाइदा उनले उठाइरहेका छन् । पटकपटक प्रधानमन्त्री भइसकेका देउवाले आफू कसैको आडमा नेता नभएको र आफूले नै कांग्रेसलाई नेतृत्व गर्नु पर्ने आजको आवश्यकता रहेको आभास अन्य नेतालाई पार्न खोजेका छन् । 

उनी गुट व्यवस्थापनमा पनि निकै सफल देखिन्छन् । विमलेन्द्र निधिदेखि विजयकुमार गच्छदारसम्मलाई उनले म्यानेज गर्दै आएका छन् । अघिल्लो निर्वाचनपछि मात्र नेपाली कांग्रेसमा छिरेका नेपालका धनाढ्य विनोदकुमार चौधरीलाई पनि उनले आफ्नो पक्षमा पारिसकेका छन् । चौधरीकै सहयोगमा देउवाले पार्टीमा आफूलाई अझ बलियो बनाउने मनासयमा काम गरिरहेको उनीनिकट एक नेता बताउँछन् । 

अर्कोतिर, पौडेल र सिटौलासँग उनीहरुकै पक्षमा भएका नेताहरु पनि त्यति सन्तुष्ट देखिँदैनन् । ‘त्यो पौडेल र सिटौलाको मिसम्यानेजमेन्टका कारण भएको हो,’ ती नेताले भने, ‘उनीहरुको पक्षमा भएका नेताहरु बाहिर असन्तुष्टि पोखे पनि अन्तिममा उनीहरुलाई नै समर्थन गर्छन् ।’

अबको महाधिवेशनमा सभापतिमा रामचन्द्र पौडेलले आफूलाई कोइराला पक्षको साथ र समर्थन हुँदा र प्रतिनिधिहरुलाई देउवाका कमजोरीलाई बढी हाइलाइट गरिदिँदा आफू जित्नेमा ढुक्क भएको अनुमान गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार १६:२७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया