फिनल्यान्डः जहाँ चाेरी हुँदैन

एजेन्सी– एकजना बेली डान्सर पार्कमा बसेकी छन् । उनको नाम हो मिन्ना तरवामाकी । सोचमग्न, ध्यानमग्न उनी केहीबेरपछि त्यहाँबाट उठेर आफ्नो बाटो लाग्छिन् । अघि बढ्दै गर्दा उनलाई महसुस हुन्छ– मैले केही पार्कमै छोडेर आएँ ?

यताउता गोजीमा छामछुम गर्छिन्, नभन्दै उनको वालेट (मनी ब्याग) छुटेको रहेछ । वालेटमा धेरै महत्वपूर्ण वस्तुका साथै पैसा पनि हुन्छ, त्यही हराएपछि तपाईं कति आत्तिनुहोला ? तर मिन्ना निश्चिन्त छिन् । किनकि उनको देशमा कसैले कसैको सामान त्यसरी ‘भेटेको’ भनेर उठाएर लाँदैनन् । पार्कमा फर्किएर आइपुग्दा उनको वालेट जस्तो अवस्थामा छोडिएको थियो, दुरुस्तै थियो ।

उत्तरी युरोपेली देश फिनल्यान्ड, सन् २०१८ को ह्याप्पीनेस रिपोर्टअनुसार विश्वकै सबभन्दा बढी खुसी मान्छे बस्ने देश हो । तर ‘अकबरी सुनलाई कसी लाउनु पर्दैन’ भनेझैं त्यो रिपोर्ट नहेर्दा पनि फिनल्यान्डका नागरिकको व्यवहार, रहनसहन, सोच, आत्मसन्तुष्टि यावत कारणले उनीहरू सबभन्दा खुसी छन् भन्दा फरक नपर्ला । ह्याप्पीनेस रिसर्च इन्स्टिच्युटका सिइओ माइक वाइकिङका अनुसार फिनल्यान्डका नागरिक अन्तर्मुखी छन् । ‘उनीहरू कोहीसँग पनि त्यति धेरै खुलेर बोल्दैनन्,’ माइक भन्छन्, ‘उनीहरू आफ्नो खुसी र रिस कसैका अगाडि पोख्दैनन् ।’

त्यहाँका मानिस एक्ला एक्लै बस्ने, आफ्नै धुनमा मस्त हुने खालका छन् । त्यसो त उनीहरूको सन्तुलित जीवन नै खुसीको अन्तर्य हो । बेली डान्सर मिन्नालाई सकारात्मक कुरालाई प्रोत्साहन गर्ने एक कम्पनीले फिनल्यान्डकै सबभन्दा खुसी मान्छेका रूपमा मनोनयनसमेत गरेको थियो । मिन्नाको नजरमा फिनल्यान्डका नागरिक यति खुसीको जिन्दगी बाँच्न सक्नुमा देशको भरपर्दो सुरक्षा व्यवस्था नै हो ।

‘कसैले आफ्नो सामान जहाँसुकै छोडे पनि हराउँदैन,’ उनी भन्छिन्, ‘यहाँ कोही पनि त्यसरी अलपत्र परेका वा अरूका सामानमाथि हातसमेत लगाउँदैनन् ।’

उनलाई ह्याप्पीनेस सर्वे रिपोर्टले दिएको सबभन्दा खुसीको देशको उपमासँग कुनै सरोकार छैन । किनकि उनी स्वयंलाई निकै सुरक्षित महसुस गर्छिन् । त्यसो त खुसीको मापन के आधारमा गर्ने भन्ने विषयमा मतभेद नरहेको होइन । मिन्नाकै तर्कलाई केलाउने हो भने ह्याप्पीनेस रिपोर्टको नतिजाले फिनल्यान्डका नागरिकको वास्तविक खुसी पेस गर्न सकेको देखिन्न । क्यानडाको ब्रिटिस कोलम्बिया युनिभर्सिटीका प्रोफेसर तथा वल्र्ड ह्याप्पीनेस रिपोर्टका सहसम्पादक जोन हेलिवेलको तर्क छ, खुसीको मापन भावनात्मक अध्ययन हुँदै होइन । खासमा यो रिपोर्टमा विश्वभरका मान्छेको रहन–सहनलाई नै मापदण्ड बनाइने भएकाले त्यसमा फिनल्यान्ड सबभन्दा अघि रहेको उनीहरू बताउँछन् । त्यसो त जीवनशैली सुखद बनाउन त्यो देशको जिडिपी र प्रतिव्यक्ति आयका साथसाथै स्वास्थ्य र आयु लामो आयुको पनि आवश्यकता पर्छ ।



तर, यसबाहेक मान्छे–मान्छेबीच लगाव, एक अर्कालाई सहयोग गर्ने भावना, उनीहरूको सहारा बन्नु, आफ्नो निर्णय स्वयंले गर्ने स्वतन्त्रता हुनुले पनि खुसी तुल्याउन मद्दत गर्छ । यसका लागि उदारता र विश्वास त चाहियो नै, जसले मान्छेको जीवनस्तरलाई निकै माथि पुर्याउँछ । फिनल्यान्डका मानिसमा यिनै लक्षण सबभन्दा बढी पाइएको हो । फिनल्यान्ड युनिभर्सिटी अफ हेलसिन्कीका मनोवैज्ञानिक पनि यसमा सहमत छन् कि, खुसियाली जीवनका लागि विश्वास निकै महत्वपूर्ण छ । ह्याप्पीनेस सर्वेमा विश्वका धेरै देशलाई समेटिएको छ ।

सर्वेका क्रममा जुन देशको स्थिति सबभन्दा राम्रो छ, त्यहीँका नागरिकसँग धेरै सोधपुछ गरिएको थियो । तर सिरिया, लाइबेरिया, अफगानिस्तानजस्ता देशमा त्यहाँको स्थिति र नागरिकमा देखिएको उदासीपन प्रस्ट झल्किँदा धेरै प्र्रश्न नसोधिएको शोधकर्ताहरूको भनाइ छ । फिनल्यान्डका नागरिकबाट हामीले पनि केही सिक्ने कि ? (बिबिसीका लागि केट लिवरले लेखेको आलेखको भावानुवाद)



  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार ०:२०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया