बयान दिन महराको आनाकानी, आज पनि म्याद थपिने

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोपको अनुसन्धानलाई प्रहरीलाई सघाएका छैनन् । यसअघि अनुसन्धानका लागि उनलाई न्यायिक हिरासतमा राख्न अदालतले तीन दिनको म्याद दिएको थियो । त्यो म्याद आज सकिँदै छ । तर, महराको आनाकानीले गर्दा प्रहरीले आज पनि म्यान थप्ने तयारी गरेको छ । 

आज दिउँसो अदालत लगेर म्याद थपिने काठमाडौं प्रहरीले जनाएको छ । यसबीचमा महराले प्रहरीलाई बयान दिन आलटाल गरेका थिए । 

‘अस्पतालबाट हामीलाई उहाँको रक्तचाप बढेको, सुगर देखिएको र मुटुमा समस्या देखिएको भन्दै बयान दिन नसक्ने सूचना आएको थियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘त्यसैले योबीचमा महरासँग हामीले बयान लिन सकेनौँ ।’

महरा अहिले नर्भिक अस्पतालमा छन् । अस्पताल स्रोतका अनुसार उनलाई सिसियुमा राखिएको छ ।

संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि प्रहरीले महरालाई सभामुख निवासबाट नै १९ असोजमा पक्राउ गरेको थियो । प्रहरीले २८ असोजमा अदालतबाट महरामाथि अनुसन्धान गर्न तीन दिनको म्याद पाएको थियो । 

‘आज थप एक साताका लागि अदालतसँग समय मागिने तयारी छ,’ प्रहरी अधिकारीले बताए । यसबीचमा महराले बयान दिन नमाने पनि उनीमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी महिला र अन्य घटनाक्रमहरुमाथि प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ । 



१२ असोजमा एक महिलाले यौन दुव्र्यवहारको आरोप लगाएपछि पार्टीको निर्देशनअनुसार महराले सभामुख पदबाट राजीनामा दिएका थिए । उनको पार्टी नेपाल कम्युनिस्ट पार्टीले उनलाई सांसद पदबाट पनि राजीनामा दिन सुझाव दिएको थियो । पार्टीको सचिवालय बैठकबाट आएको सुझाव चाहिँ महराले फलो गरेका छैनन् । उनले अझै सांसद पदबाट राजीनामा दिएका छैनन् । 

महरामाथि लागेको यौन दुव्र्यवहारको आरोप प्रमाणित भएमा उनलाई तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्छ ।



  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार ११:११:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया