मन्त्रिपरिषद् हेरफेरमा प्रधानमन्त्री ओलीलाई प्रचण्ड ‘तगारो’, हेरफेर तिहारपछि

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अब अझ चर्को रुपमा मन्त्रिपरिषद् हेरफेरको विषयमा चर्चा हुन थालेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार प्रयास गर्दा पनि मन्त्रिपरिषद् हेरफेर गर्न नसकेको विषयले नेकपाका पूर्वएमालेभित्र बहस जन्माएको हो । 

आफूले नेतृत्व गरेको सरकारले सोचेजस्तो सफलता नपाएको विषयमा प्रधानमन्त्री ओली स्वयं निष्कर्षमा पुगिसकेका छन् । त्यसैले लामो समयदेखि उनले मन्त्रीहरु हेरफेर गर्न खोजेको विषय चर्चामा आइरहेको छ । तर, यो विषयमा आएको चर्चा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका केही सार्वजनिक अभिव्यक्तिहरु सँगै छायामा पर्न थाल्छ । 

यसअघि बारम्बार जब मन्त्रिपरिषद् हेरफेरको विषय आउँथ्यो, तब प्रचण्डले कुनै न कुनै सार्वजनिक कार्यक्रममा यस विषयमा आफ्नो धारणा राखिहाल्थे । अनि उनले समयअनुसार मन्त्रीहरु फेर्न सकिने बताएको भोलिपल्ट वा केही दिनमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्टीकरण दिन्छन्– मन्त्रिपरिषद् अहिले हेरफेर हुँदैन ।

तर, नेकपाका एक नेता तथा नयाँ मन्त्रीको आकांक्षीका रुपमा समेत लिइएका एक नेता भन्छन्, ‘खासमा ओली कमरेडलाई मन्त्रीहरु फेर्न रोकिरहेकै प्रचण्ड कमरेडले हो ।’

यसरी मन्त्रिपरिषद् हेरफेरको विषयमा ओलीका सामु तगारोका रुपमा प्रचण्ड उभिएका छन् ।

र, गृहमन्त्री रामबहादुर थापाको विषयमा आएर अड्किएको विषय बनेको छ । 



‘प्रचण्ड थापालाई मन्त्रीबाट हटाउनु पर्ने माग लिएर ओलीकहाँ छलफल गर्न पुग्नु भएको हो, ’ ती नेताले फरक धारसँगको कुराकानीमा बताएका छन्, ‘तर, ओली यस्तो गर्न चाहनुहुन्न, बादललाई हटाउँदा पार्टीमा आफू थप कमजोर हुने हो कि भन्ने डर उहाँमा छ ।’

 



किन निर्णायक बनिरहेको छ बादल फ्याक्टर ?

पछिल्लो समय, विशेषगरि एमाले र माओवादी केन्द्रको एकतापछि बादल नेकपामा नयाँ शक्तिकेन्द्रका रुपमा उदाएका छन् । उनले पार्टीमा आफ्नै गुट म्यानेज गर्न थालिसकेका छन् । नेकपाको सचिवालय सदस्यसमेत रहेका बादलका प्रस्ताव तथा उनको भनाइलाई सचिवालय बैठकमा पनि विशेष चासोका साथ हेर्न थालिएको छ । 

‘यो स्वाभाविक हो,’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘उहाँ खासै धेरै बोल्नुहुँदैन, जब बोल्नुहुन्छ उहाँले जायज कुरा नै उठाउँदै आउनु भएको छ ।’

सचिवालयमा मात्र होइन, पूर्वमाओवादीमा पनि विशेष भूमिका निर्वाह गरिरहेका बादलका कारण प्रचण्ड सशंकित बनेका छन् । उनलाई बादलले आफूनिकट नेताहरुलाई समेत भड्काउन सक्ने आशंका बढेको छ । यसो भएमा अब नेकपाको महाधिवेशनमा आफूले ठूलो मूल्य चुकाउनु पर्ने, पूर्वमाओवादीकै साथीहरु अलग्गिँदा आफू पार्टीमा एक्लिँदै जाने प्रचण्डको ठहर छ । 

त्यसैले उनी बादललाई अगाडि शक्तिमा आएको देख्न चाहँदैनन् ।

अर्कोतिर, अर्का अध्यक्ष केपी शर्मा ओली अहिले बादललाई चिड्याउन चाहँदैनन् । ओलीले बुझिसकेका छन्– बादलले पूर्वमाओवादीमा आफ्नो विशेष स्थान बनाइसकेका छन् । ओली बादललाई आफ्नो पक्षमा ल्याएर पार्टीमा होल्ड बनाइरहन चाहन्छन् । त्यसैले उनी अहिले बादललाई मन्त्रीबाट हटाएर उनी र उनको पक्षधरका नेताहरुलाई बिच्क्याउन चाहँदैनन् । 

 

त्यसो भने मन्त्रिपरिषद् हेरफेर हुँदैन त ?

नेकपाले दशैं, तिहार, चाडवाड तथा अन्य पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले भनेका थिए, मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको तजबिजको कुरा हो । 

उनले त्यहाँ स्पष्ट संकेत गरेका थिए, मन्त्रिपरिषद् केही दिनमा नै हेरफेर हुँदैछ । 

हो, बालुवाटारको तयारीबारे यो संकेत ईश्वर पोखरेलको थियो । तर, नयाँ मन्त्रीहरु कसलाई ल्याउने वा पुराना मन्त्रीमा कसलाई निकाल्ने भन्ने विषयमा नेकपाका दुई अध्यक्ष, सचिवालयका अन्य सदस्यको एकमत भइनसकेको मात्र होइन, यसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विशेष चासो दिएकाले अहिले तत्काल यो हुने सम्भावना नदेखिएको हो । 

यो विषयमा छलफल मात्र के प्रवेश गरेको थियो, राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणका लागि म्यानमार जानुले पनि यो अलिक पछाडि धकेलियो । अर्कोतिर, प्रधानमन्त्री केपी शर्मा ओली नै पनि असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन अजरबैजान जाँदै छन् । त्यसैले पनि अहिले तत्काल यो विषयमा यसअघि भएका सल्लाहहरु अलिक पछाडिका लागि धकेलिएका छन् । 

‘यो विषयमा अब सम्भवतः निकै द्रुत गतिमा तिहारपछि काम सुरु हुन्छ,’ नेकपाका एक नेताले बताए । 

 

समाजवादीको निर्णय कुर्दै प्रधानमन्त्री ओली

केही दिनयता सरकारमा सामेल भएको समाजवादी पार्टीमा पनि सरकारबाट फिर्ता हुने कि नहुने भन्ने विषयमा बहस सुरु हुन थालेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पछिल्ला केही महिनायता प्रधानमन्त्रीसँग अलिक असहज रुपमा कुरा गरिरहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए । 

राजपासँग एकताकालागि पनि पहल गरिरहेको समाजवादीले अब सरकारमा बसिरहे राजपासँग एकता नहुने निष्कर्षमा पुगेकाले सरकार छाड्ने मनस्थिति बनाएको बुझिन्छ । त्यसैले क्याबिनेट पुनर्गठन गर्नका लागि प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा समाजवादी पार्टीको निर्णय पनि पर्खिरहेको छ ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार २२:४२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया