प्रधानमन्त्रीले आज नेपालकै पहिलाे सुरुङमार्गकाे शिलान्यास गर्ने
साङ्‌केतिक तस्वीर ।

काठमाडाैं– काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण कार्य आज (सोमबार) देखि सुरु हुँदैछ।

दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिका- १ टुटेपाखामा सुरुङमार्ग र फ्लाई ओभरको शिलान्यास गर्ने कार्यक्रम रहेको सडक विभागले जनाएको छ। यो सडकतर्फ पहिलो सुरुङमार्ग हो।

सिचाईं, खानेपानी र विद्युत् आयोजनाको लागि सुरुङ खनिए पनि सडक मार्गको लागि अहिलेसम्म नेपालमा सुरुङ खनिएको छैन।

सुरुङमार्गसँगै दुईवटा फ्लाई ओभर पनि निर्माण हुनेछन्। फ्लाई ओभर पनि नेपालमा पहिलोपटक निर्माण हुन लागेको हो। 

सुरुङमार्ग निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ। सोही ऋणबाट सुरुङमार्ग निर्माण गर्न थालिएको हो। ४० वर्षमा तिर्ने गरी लिइने ऋणको वार्षिक ब्याज दर ०.०१ प्रतिशत हुने सहमति छ।

नागढुंगामा सुरुङमार्ग निर्माणपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी जाम नहुने अनुमान छ। सुरुङमार्ग निर्माणपछि नागढुंगादेखि सिस्नेखोलासम्म चार किलोमिटर दूरी घट्नेछ।



निर्माण कार्य ४२ महिनामा सक्ने लक्ष्य छ। सुरुङमार्ग निर्माणका लागि भ्याट र अनुगमनसहित १६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । तर, ठेकेदार कम्पनीसँगको सम्झौता भने १३ अर्ब ५० करोड रुपैयाँको छ ।

नागढुंगा– सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ६ असोजमा विभाग र जापानी निर्माण कम्पनी हाज्माअन्द्रोबीच सम्झौता भएको थियो ।



  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार ९:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया