एजेन्सी– बेलायतका सांसदले प्रधानमन्त्री बोरिस जोन्सनको त्यो प्रस्तावलाई खारेज गरिदिएका छन् जसले युरोपेली युनियनबाट बेलायत अलग्गिने (ब्रेक्जिट) विधेयकलाई तीन दिनभित्र समीक्षा गर्ने भनिएको थियो ।
हाउस अफ कमन्समा सांसदले पहिले ब्रेक्जिट सम्झौताको चाहिँ समर्थन गरेका थिए । यसलाई जोन्सनको पहिलो खुड्किलोको रुपमा लिइएको थियो । तर, त्यसपछि यस सम्झौतामाथि छलफल गर्ने समयसीमाको उनीहरुले विरोध गरेका छन् ।
यसअघि बेलायती प्रधानमन्त्री जोन्सनले सांसदले ब्रेक्जिट योजनालाई अस्वीकार गरेर ३१ अक्टोबरको डेडलाइनलाई विलम्ब गरिदिएमा उनीहरु फेरि चुनाव गराउन सक्छन् ।
मंगलबार सांसदमा भएको पहिलो चरणको मतदानमा ब्रेक्जिट सम्झौताको समर्थन गरिएको थियो । यसको पक्षमा ३२९ र विपक्षमा २९९ मत परेको थियो । लगत्तै भएको दोस्रो मतदानमा यसको समीक्षाका लागि राखिएको तीन दिनको समयसीमाको पक्षमा चाहिँ ३०८ र विपक्षमा ३२२ मत परेको थियो ।
यो मतदानपछि बोरिस जोन्सनले जबसम्म युरोपेली युनियनले आफ्नो उद्देश्य प्रष्ट पार्दैन, तबसम्मका लागि यो विधेयक रोकिदिने घोषणा गरेका छन् । उता, युरोपेली आयोगका एक प्रवक्ताले अब बेलायत सरकारले नै आफ्नो भावी योजनाबारे बताउनु पर्ने बताएका छन् ।
यो सब प्रक्रियाका कारण आफू निराश भएको बोरिस जोन्सनले बताएका छन् । उनले यो नतिजाका कारण बेलायतमा थप अस्थिरता बढ्ने खतरा भएको बताएका छन् । तर, उनले आफू चाहिँ ब्रेक्जिटको पूरै प्रक्रिया यही महिनाभित्र सकाउनेमा दृढ भएको पनि बताएका छन् ।
बेलायतको विपक्षी दल लेबर पार्टीका नेता जेरोमी कोर्बिनले चाहिँ जोन्सनले आफ्नो दुर्भाग्य आफैं बनाएको उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।