पेट पाल्नै गार्हाे भाे, शव नजलाउने आन्दाेलन गर्याैँ, हामीले के बिरायाैँ : कृष्णबहादुर मगर

सधैंझैँ कृष्णबहादुर मगर बुधबार विहान पशुपति आर्यघाट पुगे । उनी दैनिक विहान उठेपछि आफ्नो काममा निस्किन्छन् । गोठाटारबाट उनलाई आर्यघाट पुग्न केही मिनेटमात्र लाग्छ । 

तर, बुधबार विहान हिजोअस्ति जे काम गर्दै आएका थिए, त्यो काम सुरु गरेनन्, मगरले । 

किनकि मगरलगायत पशुपति आर्यघाटमा शव जलाउनेहरु आन्दोलनमा थिए । आन्दोलनको माग थियो– सेवासुविधा बढोस् । 

मगर पनि चुपचाप त्यही आन्दोलनमा सरिक भए । 

आन्दोलन गर्दागर्दै बुुधबार दिउँसो मगरलाई थोरै साइड लगाएर हामीले कुराकानीको मेसो मिलायौँ । सुरुमा त बोल्नै मानेका थिएनन्, कृष्णबहादुर । भनेका थिए, ‘हामीलाई माथिबाट आदेश छ, केही नबोल्नु ।’

तर, भित्र पशुपति क्षेत्र विकास कोषका अधिकारीसँग यो आन्दोलनका नेताहरुको वार्ता चलिरहेको थियो । कृष्णबहादुरले यही समयको फाइदा उठाए र कुरा गर्न सुरु गरे । 



खासमा कृष्णबहादुर आफ्ना दाइसँग ‘उज्यालो भविष्य’का लागि गोरखाबाट काठमाडौं हानिएका हुन् । ५२ वसन्त पार गरिसकेका कृष्णबहादुर आफ्ना बाबु र दाइसँग काठमाडौं आउँदा सानै थिए । ‘यति वर्षको भन्ने नै याद छैन,’ उनले भने । 

उनको परिवार बत्तिसपुतलीमा बस्ने भयो । 



त्यहाँबाट नजिकै थियो, पाशुपत क्षेत्र अर्थात् आर्यघाट । खेल्दाखेल्दै कृष्णबहादुर आर्यघाट पुग्न थाले । विस्तारै त्यही आर्यघाट कृष्णबहादुरका लागि रोजगारीको थलो पनि बन्यो । ‘मेरो दाइले यहाँ नै काम गर्न थाल्नुभयो,’ उनले भने, ‘अनि म पनि दाइको पछाडि लागेर यहाँ आएँ, काम पाएँ ।’

कृष्णबहादुरका दाइले काठमाडौं आएलगत्तै आर्यघाटमा शव जलाउन थालेका हुन् । कृष्णले दाइको बिँडो धाने, आर्यघाटमा नै काम गर्न थाले । 

‘खासमा अलिक पहिले देखि नै यहाँ दाउरा बोक्ने काम गर्न थालेको थिएँ,’ कृष्णले सम्झिए, ‘दाजुले लास जलाएको देख्थेँ, मैले पनि सिकिहालेँ ।’ अहिले कृष्णबहादुरका दाइ छैनन्, केही वर्ष पहिले उनले अरुको जस्तै आफ्नै दाइको शव पनि आर्यघाटमा जलाए । 

‘मगर त म एक्लै हो,’ कृष्णबहादुरले भने, ‘मगर समुदायका शव चाहिँ मै जलाउँछु । अरु समुदायको होइन ।’

कृष्णले शव जलाउन थालेको त अब १२ वर्ष भइसक्यो । उनले यही पेशाबाट आफ्नो काम धानेका छन्, आफ्नो परिवार धानेका छन् । चार छोराछोरीलाई यही पेशाबाट उनले हुर्काए, पढाए । अहिले तीमध्ये एक छोरी वैदेशिक रोजगारीका लागि बाहिर छिन् । 

छोराछोरीको मुख जेले भरेका थिए, १२ वर्षदेखि, त्यसले अब नधान्ने महसुस केही अगाडि नै भएको कृष्णबहादुरलाई । त्यसैले उनले त्यहाँ आफूजस्तै शव जलाउने र अन्य काम गर्ने अरु ४८ जनाको होमा हो मिलाए, बुधबारबाट त शव जलाउनै बन्द गर्ने भए । 

‘शव जलाउने काम नै बन्द नगरेको भए त हाम्रो माग पूरा हुने नै रहेनछ,’ कृष्णबहादुरले भने, ‘हाम्रो मर्का यहाँ कसैले नसुनेपछि हामीले शवहरु नजलाउने निर्णय गर्यौँ ।’

खासमा कृष्णहरुले लाशमाथि राजनीति गरेको आरोप आर्यघाटमा नै बुधबार विहानदेखि लागेको थियो । मरिसकेको मान्छेको शव नजलाउनु भनेको कुनै अर्थमा राम्रो होइन भन्ने गाइँगुइँ त्यहाँ सुनिन थालेको थियो । 

तर, शव जलाएर कृष्णले सोचेका छन्, आफ्ना छोराहरुको भविष्य । 

‘वर्षौ भइसकेको थियो, हाम्रो सुविधा केही पनि नबढेको । एउटा शव जलाउँदा जम्मा १२ सय आउँछ,’ कृष्णबहादुरले भने, ‘त्यसमा कट्टी पनि हुन्छ, त्यसले कसरी छोराछोरी पाल्नु ?’

खासमा कृष्णबहादुरले शव जलाएरै दुई छोरालाई अहिले पनि पढाइरहेका छन् । ‘ती छोराहरुलाई राम्रो पढाउन सकूँ भन्ने छ, त्यसैले पनि यो आन्दोलनमा मैले साथ दिएको हो,’ कृष्णबहादुरले भने, ‘तर, उनीहरुलाई म यो काममा लगाउँदिनँ, उनीहरुले अरु नै काम गरुन्, सकेसम्म म पढाइदिन्छु ।’

सेवासुविधाकै कुरामा कृष्णले थपे, ‘यहाँ काम गर्न पाइने ६० वर्षको हुँदासम्म हो भन्ने नियम छ । अब बल भइन्जेल यहाँ काम गर्ने, अनि अलिक बुढेसकालमा कहाँ जाने ?’

उनीहरुले खासमा यो उमेर हद खारेज गर्नु पर्छ भनेर पनि आन्दोलन गरेका हुन् ।

यो आन्दोलन सुरु भएलगत्तै पशुपति क्षेत्र विकास कोषले वार्ता आह्वान गर्यो । वार्ता सकारात्मक भयो, कृष्णहरुको माग सम्बोधन भयो । 

अब बढेको सेवा सुविधा र रकमले अलिक बढी राहत देला भन्नेमा विश्वस्त छन्, कृष्णबहादुर । यसअघि एउटा शव जलाएर १२ सय रुपैयाँ दिँदै आइएको थियो । अब यो बढेर १५ सय रुपैयाँ भएको छ । अब अवकास लिँदा कृष्णबहादुरहरुले पाँच लाखसम्म उपदान पाउनेछन् । 

त्यस्तै, पशुपति विकास कोषले यो समूहलाई औषधि उपचारका लागि दिँदै आएको ५ हजार बढाएर १५ हजार पुर्याउने निर्णय गरेको छ ।

‘हामीले शव नजलाएको हाम्रो भविष्यका लागि हो,’ कृष्णले भने, ‘अब आज सहमति भयो, यसले हाम्रो दैनिकी अलिक सहज हुन्छ भन्ने विश्वास छ ।’

  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार १७:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया