असंलग्न आन्दोलन राष्ट्रहरुको १८औँ शिखर सम्मेलन सुरु

अजरबैजान– असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन शुक्रबारबाट सुरु हुँदै छ । अजरबैजानकाे बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ । सम्मेलनमा नामका १ सय २० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संगठनका प्रतिनिधि सहभागी हुँदै छन् । 

सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन् । शिखर सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल बिहीबार कतारको दोहा हुँदै कतार एयरको नियमित उडानमार्फत यहाँ आइपुगेको हो । 

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी समावेश छन् ।

प्रधानमन्त्री ओलीले औपचारिक उद्घाटनपछि नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नेछन् । 

यसैगरी, प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष/सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा पनि आज सरिक हुनेछन् । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

शिखर सम्मेलनअघि कात्तिक ४ देखि ५ गतेसम्म बाकुमा उच्च अधिकारीको बैठक तथा ६ र ७ गते मन्त्रिस्तरीय पूर्वतयारी बैठक भएको थियो । यस सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णय कार्यान्वयनकाे दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गरिनेछ । 



परराष्ट्रमन्त्री ज्ञवालीले मन्त्रिस्तरीय बैठकले वर्तमान विश्व अवस्थाको विश्लेषण गर्दै असंलग्न आन्दोलन र यसका सिद्धान्तहरुको सान्दर्भिकताको पुनर्पुष्टि गरेको बताए । उनले भने, 'सन् १९६१ मा नाम औपचारिक रूपमा स्थापित हुँदा विकासोन्मुख देशले सामना गरेका विकास र विश्व प्रणालीमा अर्थपूर्ण सहभागिताको समस्या अझै पनि यथावतै रहेको छ ।' 

सो बैठकले १८औँ नाम शिखर सम्मेलनको बाकु घोषणापत्रको मस्यौदा गरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले घोषणापत्रको मूल सार भनेको बाङडुङ सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको र नामका सदस्यले विश्व प्रणालीमा अझ बढी भूमिका निर्वाह गर्न आफूहरुबीचको सहकार्य र एकतालाई थप बलियो बनाउनुपर्ने रहेको बताए । शिखर सम्मेलनको मुख्य दस्ताबेजका रूपमा रहने बाकु घोषणापत्र सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको अनुमोदनपछि शनिबार जारी हुँदै सम्मेलनको समापन हुनेछ । 



'दिगो विकासका लक्ष्य हामीले अवलम्बन गरेको एउटा युगान्तकारी विश्वव्यापी कार्यक्रम हो, तर विकसित राष्ट्रले त्यस सम्बन्धमा जिम्मेवारीको भार जति लिनुपर्ने हो, त्यति लिन सकिरहेका छैनन्,' मन्त्री ज्ञवालीले भने, 'त्यसैकारण, दिगो विकासका लक्ष्यहरुलाई पूरा गर्नमा विकासोन्मुख देशलाई सहयोग गर्न हाल विद्यमान विकास सहायताको संरचनालाई परिवर्तन गर्न आवश्यक छ ।' 

नामको मुख्य उद्देश्य भनेको विकासोन्मुख देशहरुको स्वतन्त्र पहिचान, स्वतन्त्र अस्तित्व र स्वतन्त्र रूपमा विकास गर्न पाउने स्वतन्त्रताका साथै विश्व प्रणालीमा न्यायोचित प्रतिनिधित्व होस् भन्ने हो । 'नेपालको हकमा भने, नाम हाम्रो अस्तित्व र विकाससँग जोडिएको कुरा हो,' परराष्ट्रमन्त्री ज्ञवालीले भने, 'त्यसैकारण हाम्रो विदेश नीति असंलग्न आन्दोलनका सिद्धान्तमा आधारित हुँदै अघि बढेको छ । हाम्रो भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दा, असंलग्नता, तटस्थता, अहस्तक्षेप, सार्वभौम समानता हाम्रा लागि ज्यादै महत्वपूर्ण छन् ।'

  • प्रकाशित मिति : कात्तिक ८, २०७६ शुक्रबार १५:५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया