एजेन्सी– इन्डोनेसियामा केही अघि राष्ट्रपति निर्वाचन सम्पन्न भयो । त्यो निर्वाचनको समयमा इन्डोनेसियामा केही विषयहरु छरपस्ट भए । खासमा यसरी छरपस्ट भएका विषयमा एक थियो, त्यहाँका राष्ट्रपति जोको विडोडो र उनका विपक्षीको एकअर्का प्रतिको आक्रमण ।
सामाजिक सन्जालमा निकै रुचि राख्ने त्यहाँका राष्ट्रपति जोको दोस्रो कार्यकालका लागि निर्वाचित भए । अब निर्वाचन सकिएको केही महिना भएको छ र त्यहाँका राष्ट्रपतिसँग कुम जोड्न आएका छन्, तिनै विपक्षी जो यसअघि अत्यन्त आक्रामक भएर जोकोविरुद्ध लागेका थिए । ती विपक्षी हुन्, त्यहाँका पूर्वसैनिक जनरल प्राबोवो सुबियान्टो ।
अब यी दुई सँगै एउटै सेल्फीमा देखिन थालेका छन् ।
तर, विगतलाई हेर्ने हो भने के प्राबोवो र जोकोका समर्थक सडकमा विरोध प्रदर्शनीमा उत्रिँदा कयौँ जनताको मृत्यु भएको थियो ।
त्यहाँको निर्वाचन अभियान निकै आक्रामक भएको थियो । गत जुनमा मात्र त्यहाँ विडोडो विजेता भएको मुद्दामा अदालतले अन्तिम फैसला सुनाएको थियो । लगत्तै त्यहाँका विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका थिए । त्यसमा पनि केही दर्जनको मृत्यु भएको थियो । त्यहाँका संसदमा भएको एक विधेयकको विरोधमा भएको यो आन्दोलनले अन्ततः आफ्नो माग पूरा गर्यो ।
तर, विडोडो के गर्ने हुन् भन्ने हेर्न सबै लालायित थिए ।
तिनै विडोडोले सुबियान्टोलाई आफ्नो क्याबिनेटको रक्षामन्त्रीमा नियुक्त गरे । सन् २०१४ मा पहिलो पटक सत्तामा आएका विडोडोले गरेको यो निर्णयले त्यहाँ निकै ठूलो तरंग ल्यायो ।
६८ वर्षका सुबियान्टो अब विडोडोका सहयात्री भएका छन् । उनको परिवार पनि यसअघि इन्डोनेसियाको राजनीतिमा थियो । उनले त्यहाँका राष्ट्रपति सुहार्तोकी छोरी विवाह गरेपछि त्यहाँको सेनामा उनी निकै चिनिन थाले । उनको पदोन्नती पनि हुँदै गयो ।
उनै सुबियान्टो विडोडोको विरोधमा राष्ट्रपति उम्मेदवार पनि भए । तर, उनी पराजित भए ।
‘उनले राष्ट्रपतिलाई पाँच वर्ष शासन गर्न दिन्छन् भन्ने अनुमान राष्ट्रपतिको छ,’ त्यहाँका विश्लेषकहरुले भन्न थालेका छन्, ‘त्यसैले अब राष्ट्रपति विडोडोले उनीसँग सेल्फी खिच्न थालेका छन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।