ओखलढुंगामा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु

ओखलढुंगा– ओखलढुंगामा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निमोनिया र डेंगुको संक्रमणपछि सिद्धिचरण नगरपालिका १० बेतनीकी २५ वर्षीया गीता धमलाको मृत्यु भएको हो ।

सुरुमा सामान्य ज्वरोको समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएर घरैमा बसेकी धमला सिकिस्त बिरामी भएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । केही दिन अस्पतालमा राख्दा पनि उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो । उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको सिद्धिचरण नगरपालिका १० का वडाध्यक्ष दामोदर धमलाले जानकारी दिए । 

‘सुरुमा ज्वरो आएको थियो । मिसन अस्पतालमा लैजाँदा निमोनिया भएको भनेर त्यसको उपचार थालियो,’ धमलाले भने, ‘त्यहाँ उपचार नभएपछि हेलिकोप्टर झिकाएर काठमाडौं पठायौँ । उता, चेक गर्दा डेंगु भएको भनिएको थियो, बचाउन सकिएन ।’ समयमै रोग पहिचान नहुँदा उनलाई बचाउन नसकिएको उनले बताए । 

ओखलढुंगामा केही दिनयता डेंगुको संक्रमण बढ्दो छ । गत महिना जिल्लामै पहिलोपटक मानेभञ्ज्याङ गाउँपालिकाको टोक्सेल हर्कपुर क्षेत्रमा १३ जनामा डेंगुको समस्या देखिएको थियो । नियमित औषधि सेवनपछि उनीहरूको अवस्था सामान्य बनेको स्वास्थ्य चौकी टोक्सेलकी अहेव शर्मिला राईले बताइन् ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार २३:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया