काठमाडौं– तिहारको रौनक र झिलिमिलीले काठमाडौंलाई छपक्कै छोपेको छ । साँझमा बत्तीहरु बलेपछि मनै झङ्कृत हुने यो खुसीयालीले कसलाई नछोएको होला र ?
झन्, साँझ परेपछि घरघरमा देउसी खेल्न युवाहरु निस्किएका छन् । साना बालबालिकादेखि युवाहरुले यसपटक काठमाडौंको देउसीको माहोला साँच्चिकै राम्रो बनाएका छन् ।
तर, आज विहान बानेश्वरमा एउटा यस्तो समूह देउसी खेल्न आइपुग्यो, जसले हाम्रो मन तानिरह्यो ।
महाेत्तरीबाट देउसी खेल्न काठमाडाैं आइपुगेकाे याे पाँच जनाकाे समूहलाई बलिराजाले हाेइन गरिबीले हाे देउसी खेल्न पठाएकाे । pic.twitter.com/ckSFpcsuYo
— FarakDhar.com (@farakdhar) October 28, 2019
उनीहरु ब्यान्डबाजा सहित देउसी खेल्न आइपुगेका थिए । त्यो ब्यान्डबाजा लिएर उनीहरु घरघरमा पुगे, बाजाअनुसार नै देउसी खेले ।
देउसी खेल्दा उनीहरुले एक शब्द पनि उच्चारण गरेनन्, जे जति देउसी खेले, सबै ब्यान्डबाजाबाट निस्कने संगीतकै आधारमा उनीहरुले गरे ।
यो टोली देउसी खेल्न महोत्तरीबाट आएको हो । ‘महोत्तरीमा यस्तो हुँदैन हजुर, दुई चार पैसा कमाउन सकियो भने पेट भर्न पाइन्छ भनेर काठमाडौं आएका हौँ,’ देउसी खेल्न आएको पाँच जनाको यो टोलीका नेताले भने, ‘हामीले तिहारको पहिलो दिनदेखि नै काठमाडौंमा नै देउसी खेलेका छौँ ।’
यो टोली यसरी देउसी खेल्न काठमाडौं आएको पहिलो पटक हो । उनीहरु एक दिनमा कम्तिमा पनि ८० घर पुग्छन् ।
‘कसैले ५ रुपैयाँ दिन्छन् हजुर, कसैले २० रुपैयाँ,’ उनले भने, ‘दिनमा ४ हजारसम्म कमाएका छौँ ।’
आफ्नो बाजा र सीप जे छ, त्यही सीप लिएर काठमाडौंमा देउसी खेल्न आइपुगेको यो समूहलाई अरु समूहलाई जस्तो बलिराजाले देउसी खेल्न पठाएका होइनन् । उनीहरुलाई त बलिराजा भनेका को हुन् र किन बलिराजाले देउसी खेल्न पठाउँछन् भन्ने पनि थाहा छैन । ‘हामीलाई त खान नपुगेकाले यो देउसी खेल्न आएका हौँ हजुर,’ कोही बोल्न खोज्दा निकै डराउने उनीहरुले भने, ‘यो पैसाले हामीले केही गर्ने होइन, खानेमात्र हो ।’
टोलीले राम्रोसँग नेपाली बुझ्दैन । तर, कन्भर्सेसनल नेपाली उनीहरुलाई प्रष्ट आउँछ ।
यी पाँच जनाले केही दिनअघि मात्र देउसी खेल्न ब्यान्ड बाजा नै बोकेर काठमाडौं आउने योजना बनाएका थिए । अब दीपावली सकिएलगत्तै उनीहरु महोत्तरी फर्किनेछन् । ‘काम गर्नुपर्छ हजुर,’ तीमध्येका एकले भने, ‘त्यसैले फर्किन्छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।