उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन कांग्रेस पदाधिकारी बैठक भोलि बस्ने

नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ । 

जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारीदिए । 

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको उनले बताए । बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ । पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न कांग्रेसले यही कात्तिक १५ गते दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ । 

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिए । उम्मेदवारका नामावली सिफारिस भई प्राप्त नभएको भन्दै कात्तिक ७ गते बोलाइएको केन्द्रीय समितिको बैठक स्थगन गरिएको थियो । 

रिक्त भएको प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।रासस





  • प्रकाशित मिति : कात्तिक १३, २०७६ बुधबार १७:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया