प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलसिस गरियो
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलसिस गरिएको छ । उनको ग्रान्डी अस्पतालमा आकस्मिक रुपमा डायलसिस गरिएको हो । 

तर, अस्पताल स्रोत र प्रधानमन्त्रीको नीजि सचिवालयले यसबारे जानकारी दिन खोजिरहेको छैन । आज बिहान अस्पताल लगिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भएको जानकारी मात्र प्रधानमन्त्रीको सचिवालय र अस्पतालले बताइरहेको छ । 

दिनभर प्रधानमन्त्री ओलीको स्वास्थ्यको विषयमा व्यापक चासो बढेपछि अस्पतालका मेडिकल निर्देशक चक्रराज पाण्डे र प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले हस्ताक्षर गरेको विज्ञप्ति दिउँसो निकालिएको थियो । त्यो विज्ञप्तिमा पनि प्रधानमन्त्री ओली आजै साँझ वा भोलिसम्म अस्पतालबाट डिस्चार्ज हुने लेखिएको छ । 

तर, अस्पतालका एक अधिकारीले फरक धारसँगको कुराकानीमा प्रधानमन्त्री तत्काल डिस्चार्ज हुने सम्भावना नरहेको बताएका छन् । 

‘उहाँको अवस्था सामान्यभन्दा अलिक कम्प्लिकेटेड हो,’ उनले फरक धारसँगको कुराकानीमा भने, ‘किन सूचना दिन मानिएको छैन भन्ने चाहिँ थाहा भएन तर उहाँलाई तत्काल अस्पतालले डिस्चार्ज गर्दैन ।’

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली केही दिन अस्पतालमा नै बस्नु पर्ने हुन्छ । 



तर, प्रधानमन्त्रीको सचिवालयले उनको स्वास्थ्यबारे यसपटक मात्र झुट बोलेको होइन । आज विहानैदेखि प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आजमात्र प्रधानमन्त्री ओलीलाई ग्रान्डी अस्पतालमा नियमित चेकजाँचका लागि लगिएको बताएका थिए । 

तर, अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली तिहारअघि पनि बारम्बार ग्रान्डी अस्पतालमा चेकजाँचका लागि पुगेका थिए । ‘कम्तिमा पनि पाँच दिन उहाँ यहाँ आउनु भएको थियो,’ अस्पताल स्रोत भन्छ, ‘अस्पतालले यस विषयमा बाहिर जानकारी दिने कुरा भएन । उहाँहरुले किन भन्नु भएन भन्ने थाहा भएन ।’



प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे उनीनिकट नेकपाका नेताहरु नै पनि अन्योलमा छन् । उनीहरुलाई पनि प्रधानमन्त्रीको स्वास्थ्यबारे खासै केही जानकारी दिइएको छैन । 

‘हामीले पनि वास्तविकता थाहा पाउन सकेका छैनौँ,’ एक नेताले भने, ‘हामीले जसलाई सम्पर्क गरिरहेका छौँ, उहाँहरुले पनि सामान्य नै हो भन्ने जवाफ दिइरहनु भएको छ ।’

  • प्रकाशित मिति : कात्तिक १३, २०७६ बुधबार २१:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया