काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीलाई सहुलियतमा ऋण पाउने व्यवस्थाको सुनिश्चित गर्ने बताएका छन् । ज्ञवालीले भूकम्प लाभग्राहीलाई सहुलियत ऋण तीन प्रतिशत ब्याजदरमा उपलब्ध गराउने बताएका छन् ।
भूकम्प लाभग्राहीको समस्या र उनीहरुले निर्माण गरेको निजी आवासको अवस्था कस्तो छ भन्ने विषयमा बुधबार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा अर्थ मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, विश्व बैंकलगायतका संस्थाका प्रतिनिधिको उपस्थितिमा भएको अन्तर्क्रियामा उनले सहुलियत ऋणका विषयमा सरकार र बैंकसँग सहमति भइसकेको बताए ।
उनले भने, 'विगतमा दुई प्रतिशत ऋण लिन पाउने व्यवस्थाको कुरा गरे पनि त्यो पूरा हुन सकेन । मैले कार्य जिम्मेवारी सम्हालेपछि तत्कालै सरकारसँग कुरा गरेर गरेको निर्णयअनुसार राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ६ प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था भएको र त्यसमा दुई प्रतिशत थप गर्दा ८ प्रतिशत हुने र त्यसमा पाँच प्रतिशत सरकारले तिरिदिने गरी छलफल भइसकेको छ ।'
उनले बैंकमा तिर्नुपर्ने पाँच प्रतिशत ब्याजदर रकम तिरिदिने विषयमा सहमति भइसकेको हुनाले ऋण लिनेको विवरण संकलन गरी जिल्लामा छलफल गरी त्यसको टुंगाे लगाउन सबै लाग्न आग्रह गरे । 'जुन कुरा दिने भनेर प्रतिबद्धता जनाएको छ, त्यो काम पूरा गर्न प्राधिकरण प्रतिबद्ध छ,' उनले भने, 'भविष्यमा पनि प्राधिकरण लाभग्राहीको बीचमा र नगरपालिकासँग बसेर काम गर्न चाहन्छ ।'
अन्तर्क्रियामा विश्व बैंकका देशीय निर्देशक फारिस एज हदले नेपाल आएर मात्रै नभई पुनर्निर्माणको काममा साझेदारी गरेर सहयोग गरेकामा खुसी व्यक्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।