काठमाडौं– सवारीचालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर (ठूलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो । अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यसको समाधानका रूपमा ‘मासप्रिन्टर’ लाई हेरिएको छ ।
प्रतिघण्टा पाँचदेखि ६ सयसम्म अनुमतिपत्र छपाइ गर्ने क्षमता रहेको ‘मास प्रिन्टर’ अबको केही दिनभित्रै सञ्चालनमा ल्याइने भएको छ । डेढ महिना पहिले ल्याइएको उक्त उपकरणको जडान र परीक्षण सकिएकाले अब सञ्चालनमा ल्याउन लागिएको हो ।
अबको केही दिनसम्म परीक्षण भएपछि उपकरण पूर्ण रूपमा सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ । उपकरणका धेरै भाग छुट्टिएर आउने हुँदा त्यसको जडान र प्रविधि जडानको काम यो अवधिमा भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार उपकरणमा ‘सफ्टवेयर’ कै लागि लामो समय लागेको हो । उनले भने, ‘हाम्रो सबै विवरण भएका कम्प्युटर र प्रिन्टरको जडानका लागि समय लागेको हो ।’
अहिले परीक्षणका लागि चालक अनुमतिपत्र छपाइ भइरहे पनि अहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी रहेको उनले बताए । परीक्षणका क्रममा कुनै पनि किसिमका समस्या नआएकाले पूर्णरूपमा सञ्चालन गर्न समस्या छैन । छपाइका क्रममा कार्ड स्पष्ट आएको छ । उनले भने, ‘पूर्ण रूपमा चलाउन अब कुनै बाधा छैन ।’
विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनबाट झण्डै साढे सात लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । यो सङ्ख्या अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तिर्ण र नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीको हो । यो उपकरण पूर्णरूपमा सञ्चालन हुँदा तीनदेखि चार महिनामा सबै कार्ड छापिसकिने विभागले अनुमान गरेको छ ।
काठमाडौं उपत्यकामा सवेग्राहीले आवेदन दिएकै दिनमा अनुमतिपत्र पाउने व्यवस्था मिलाइने उनले बताए । काठमाडौँ उपत्यका बाहिरबाट विवरण आउन र छापिएपछि बाटोमा समय लाग्दा मात्रै ढिलाइ हुने उनको भनाइ छ । उनले भने, ‘उपकरणका कारण अब ढिलो हुँदैन ।’
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो संख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ खरीद गरेको थियो । उपकरणले चाँडो काम गर्ने भएकैले विभागले ठूलो सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएकाले १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । तीमध्ये चार लाख कार्ड आइसकेको र बाँकी ६ लाख आउने क्रममा रहेको विभागले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।