Sat, 14 Dec, 2019


विचार
प्रधानमन्त्री ओलीले राजनीतिबाट सन्न्यास लिउन्, नेपाली मन्डेला बन्न नचुकून् !
फरकधार / कात्तिक १५, २०७६
फाइल तस्वीर ।

सन् १९९९ । दक्षिण अफ्रिकाले देशमा एउटा ठूलो परिवर्तन देखेको पाँच वर्ष मात्र भएको थियो । पाँच वर्षअघि भएको निर्वाचनबाट राष्ट्रपति चुनिएका थिए, नेल्सन मन्डेला । सबैको आशा थियो, मन्डेलाले १९९९ मा दोस्रोपटक फेरि उम्मेदवारी दिनेछन्, उनलाई फेरि राष्ट्रपति बनाएर देशले गर्व गर्न पाउनेछ । 



तर, दुई वर्ष अघि आफ्नो दल अफ्रिकन नेसनल कंग्रेसको नेतृत्वबाट बाहिरिएका मन्डेलाले दक्षिण अफ्रिकी जनतालाई दोस्रो पटक उम्मेदवारी दिएर राष्ट्रपतिमा फेरि निर्वाचित हुने अवसर प्रदान गरेनन् । उनले त राजनीतिबाट सन्न्यास लिए । यो अप्रत्याशित थियो, दक्षिण अफ्रिकी जनताका लागि । पत्याउनै अप्ठ्यारो परेको यही घटनाले दक्षिण अफ्रिकाको कुनुमा जन्मिएका, पहिलो दिन बाबुको काँधमा चढेर स्कुल जाँदा क्रिश्चियन शिक्षिकाले नाम भन्न गाह्रो भएकाले नेल्सन नाम पाएका, २७ वर्ष रोबेन टापुमा जेल जीवन बिताएका मन्डेला आज निधन भएको ६ वर्षपछि पनि मन्डेला भएर बाँचिरहेका छन् ।

सत्ताको शक्ति र उन्माद, खुसी र स्वाद सबै चाखेका थिए, मन्डेलाले । उनी चाहेको भए अफ्रिकामा सबैभन्दा बढी सत्ता चलाउने निर्वाचित व्यक्ति पनि हुन सक्थे । तर, उनले यो चाहेनन् । उनको पुस्तक ‘लङ वाक टु फ्रिडम’मा पनि उनले आफूले सत्तालाई उपभोग गर्नमा जोड दिएको विषय राखिएको छैन । 

तर, त्यसमा लेखिएको छ, कसरी दक्षिण अफ्रिकामा सत्ताका लागि र अंग्रेजहरुले त्यहाँका मानिसलाई दबाउनका लागि क्रुर अमानवीय कामहरु गरे । 

सत्ता खासमा यस्तै क्रुरताको पहिचान बनेको हामीले बारम्बार अनुभूत गर्न सक्छौँ । राजनीतिक रुपमा शक्तिमा रहनु वा सत्तामा रहिरहनु जीवन प्रति एउटा नेता रुष्ठ हुँदै जानु हो भन्ने कुरामा द्विमत नहुन सक्छ । 

यसका लागि नेपालकै केही उदाहरणहरु हेरौँ । संसदमा दुई तिहाइ सदस्य भएको नेपाल कम्युनिस्ट पार्टीभित्र पछिल्लो समय जुन खिचातानी देखिएको छ, यसले प्रष्ट्याउँछ, शक्तिमा रहिरहन आफ्नो स्वास्थ्य वा अवस्थाको पनि ख्याल नगरेर नेताहरु कम्मर कसिरहेका छन् । खिचातानीका लागि नभइ देशको विकासका लागि हुँदो हो त यसले सबै नेपालीलाई खुसी पक्कै बनाउने थियो । तर, यसमा उनीहरुको स्वार्थ मिसिएको छ, को शक्तिशाली भन्ने होडबाजीको तरंग मिसिएको छ, आफ्नो गुट बलियो हुने कुराको झङ्कारले नेताहरुलाई आनन्द दिइरहेको छ, सायद ।

तर, अब प्रधानमन्त्री केपी शर्मा ओलीको हकमा यी सब कुराहरु गौण हुने समय आएको छ । १२ वर्षअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । योबीचमा दोस्रो पटक प्रधानमन्त्री बनिसकेपछि ओलीले केहीअघि सिंगापुरमा प्लाज्माफोरेसिस गराए । अचानक गत बिहिबार उनी ग्रान्डी अस्पताल पुगे, उनको डायलासिस गरियो । दोस्रो पटक डायलासिस गरिएपछि उनी अब जुनसुकै समय डायलासिस गर्नका लागि अस्पताल पुग्ने पर्ने अवस्था छ ।

यसबीचको उनको स्वास्थ्यको विषयमा जे नहुने पर्ने थियो, त्यही भयो । अस्पताल र उनको निजी सचिवालयले समेत बारम्बार उनको स्वास्थ्यअवस्थाबारे झुटो जानकारी बाहिर दिए । उनको मिर्गौला प्रत्यारोपण गरिएको हो भन्ने सबैलाई थाहा छ, उनी सिंगापुर गएर उपचार गराएर आएका हुन् भन्ने सबैलाई थाहा छ । तर, उनले पछिल्ला दिनमा गरेका उपचार प्रक्रियालाई उनको सचिवालयले वा उनको पार्टीले जुन हदमा लुकाउन खोज्यो, यो गम्भीर विषय हो । 

प्रधानमन्त्रीको स्वास्थ्यमाथि यस्तो खेलवाड गरियो मानौँ रोग लाग्नु वा अस्पताल भर्ना हुनु कुनै ठूलो अपराध हो । र, यस्तो समयमा यो काम गरियो मानौँ सबै नेपाली प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो होस् भन्ने चिताइरहेका छैनन् । 

त्यसो त प्लाज्मा फोरेसिसका लागि सिंगापुर जानुअघि मात्र प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अर्का नेता माधवकुमार नेपालको शुभेच्छा समेत अस्वीकार गरेका थिए, ओलीले । यसपटक उनको सचिवालयले, उनको उपचारमा संलग्न चिकित्सकले सायद सोचे होलान्, जनताले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नु ठिक होइन !

नेपाली राजनीतिलाई, कम्युनिस्ट आन्दोलनमा आफ्नो जीवनको महत्वपूर्ण समय समर्पण गरेका प्रधानमन्त्री ओलीले चिताएका र नचिताएका अनेक तरंग नेपाली राजनीतिमा यो समयक्रममा देखिइसकेको छ । यो त उनले यसअघि बारम्बार दोहोर्याएका प्रसंगहरुबाट पनि प्रष्ट हुन्छ । उनी भन्थे, बयलगाढा चढेर अमेरिका पुगिँदैन, नेपालमा गणतन्त्र आउँदैन । तर, गणतन्त्र नेपालको पहिलो दुई तिहाइ बहुमतसहितका प्रधानमन्त्री उनै भएका छन् । केहीअघिसम्म ओलीले तत्कालीन माओवादीप्रति जुन भाष्य प्रयोग गर्थे, त्यही पार्टीलाई अहिले उनले नेतृत्व गरिरहेका छन् । जीवनमा प्रधानमन्त्री ओलीले जे सोचेका थिएनन्, ती उपलब्धि हासिल भएका छन्, जे सोचेका थिए, ती कामहरु उनी स्वयंले गरेका छन् ।

तर, अझै पनि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे सोचेका रहेनछन् भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गर्छ । उनी अस्वस्थ हुँदाहुँदै सार्वजनिक कार्यक्रममा पुगिरहेका छन्, प्रधानमन्त्री निवास बालुवाटारमा ठूलो घेरमा घेरिइरहेका छन्, ठट्यौली मिश्रित आफ्ना उखान टुक्का सुनाइरहेका छन् । राजनीतिका लागि जीवन समर्पण गरेका, लामो समय जेल जीवन बिताएका, पार्टीलाई नेतृत्व गरिसकेका प्रधानमन्त्रीले के अब सोच्न सक्दैनन् उनी सन्न्यास लिउन्, राजनीतिमा एउटा संस्कारलाई थप स्थापित गरुन् र आफ्नो नाम सधैंका लागि राखुन् ?

स्वास्थ्यले साथ नदिँदा नदिँदै पार्टीको गुटमा रमाएर, सत्ताको उन्मादमा भिजेर, देशलाई नेतृत्व गर्न चाहिरहेर उनले जे गरेका छन्, त्यसले देशले भन्दा बढी उनले गुमाइरहेका छन् । देशलाई कुशल नेतृत्व गरिरहेको दाबीमा रमाइरहेका ओलीले के अब पनि आफ्नो स्वास्थ्यलाई ध्यान दिएर आराम गर्नुपर्छ भन्ने सोच्न भ्याएका छैनन् ? यो अवस्थामा पनि सत्तामा रहिरहेर के उनी आफूमाथि बन्ने मिथहरुलाई अन्याय गरिरहेको सोच्दैनन् ? विगतलाई स्मरण गर्दै के प्रधानमन्त्री ओली भोलिका लागि सोच्न सक्दैनन् ?

सबैभन्दा ठूलो आश्चर्य त के भने प्रधानमन्त्री ओली अहिले पनि गुटगत राजनीतिमा रमाइरहेका छन् । उनी आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्दै पार्टीमा आफू अझ बलियो होऔँ भन्ने चाहिरहेका छन् । तर, के उनी अब केही समय आफ्नो स्वास्थ्यलाई दिऔँ, स्वास्थ्यमा समस्या भएकाले दैनिक आइपर्ने अनेक समस्याहरुबाट बाहिर बसौँ भन्ने सोच्दैनन् ? 

के उनलाई एउटा नेताको कद सही समयमा सही निर्णय गर्दा अझ अग्लिन्छ भन्ने ख्याल हुँदैन ? अनि के उनलाई राजनीतिबाट आफूले सन्न्यास लिने र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर एउटा पार्टीको मात्र होइन, पूरै देशको शुभेच्छा आओस् भन्ने चाहना हुँदैन ? किनकि जबसम्म उनी सत्तामा रहिरहनेछन्, राजनीतिक धर्मका आधारमा पनि उनको स्वास्थ्यलाई कतै पर पन्छ्याएर प्रतिपक्ष उनको कटाक्षमा पक्कै लागिरहनेछ । त्यो प्रतिपक्ष संसदको मात्र होइन, उनकै पार्टीको प्रतिपक्ष पनि हो । 

तै, यतिका वर्ष यतिका सपना बाँचेर देखाएका ओलीले के मन्डेलालाई पढेका छैनन् ? उनी किन सोच्दैनन्, नेपाली मन्डेला बनूँ ? उनी किन सोच्दैनन्, राजनीतिबाट सन्न्यास लिउँ ? मन्डेलालाई बिर्सिसकेका ओलीले के फिडेल क्यास्ट्रोलाई पनि बिर्सिसकेका होलान् ? 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्