कास्की– १४ मंसिरमा हुने उपनिर्वाचनमा प्रतिनिधि सभाका लागि एक मात्र सिटमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारको टुङ्गो लगाएको छ । यसको औपचारिक घोषणा हुन चाहिँ बाँकी छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले कास्कीमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई आफ्नो उम्मेदवार बनाउन लागेको हो ।
‘विद्याजीलाई नै उम्मेदवार बनाउने विषयमा एक किसिमको सहमति जुटेको छ,’ नेकपा सचिवालय एक सदस्यले भने, ‘तर, यसबारे थप सल्लाह हुन बाँकी छ ।’ गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त भएको हो ।
उनको निधनको केही समयमा नै उनकी पत्नी विद्या भट्टराई सक्रिय राजनीतिमा आउने विषयमा चर्चा चलेको थियो । अहिले प्राध्यापन पेशामा रहेकी भट्टराई पहिले विद्यार्थीकालमा सक्रिय राजनीतिमा थिइन् । त्यसैले नेकपाभित्रै पनि उनी सक्रिय राजनीतिमा आउने विषयमा कुरा चलेको थियो । तर, यस्ता अड्कलबाजीहरुलाई मत्थर बनाउँदै भट्टराईले रवीन्द्र अधिकारीको निधन भएको केही समयपछि शोक सभामा आफूले यस विषयमा नसोचेको बताएकी थिइन् । त्यो कार्यक्रममा उनले आफू राजनीतिमा आए पनि वा नआए पनि अधिकारीका सपना पूरा गर्न सिंगो पार्टी लाग्नु पर्ने बताएकी थिइन् ।
यसबीच रिक्त भएको उक्त क्षेत्रमा नेकपा नेता वामदेव गौतम उम्मेदवार बन्ने चर्चा पनि चल्यो । नेकपाभित्र पूर्वएमालेका केही नेता गौतमलाई त्यहाँबाट विजयी बनाएर संसदमा ल्याउन चाहन्थेँ । तर, गौतमले त्यहाँबाट उम्मेदवारी नदिने बताए ।
पछिल्लो समय १४ मंसिरमा उपनिर्वाचनको मिति तय भएसँगै कास्कीमा नेकपा नेता सोमनाथ अधिकारी प्यासीको चर्चा पनि बढ्यो । ८ कात्तिकमा भट्टराईलाई नेकपाको कास्की जिल्ला कमिटीले सर्वसम्मत उम्मेदवार बनाएको भोलिपल्टै प्यासीको नामसँगै राजकाजी गुरुङको नाम पनि उम्मेदवारका प्रत्याषीका रुपमा सिफारिस गरियो ।
तर, अहिले त्यो क्षेत्रमा अधिकारीप्रति छुट्टै भावना रहेको र उनकी पत्नीलाई यो निर्वाचन सहज हुने अनुमान नेकपाका शीर्ष नेताले गरेका छन् । त्यसैले पनि सचिवालय बैठकमा उनको नाममा कसैको पनि असहमति रहेन ।
अर्कोतिर नेकपाभित्रै एक थरि नेताहरु यो पद्धतिको अन्त्य गर्नु पर्ने बताउँदै आइरहेका छन् । उनीहरु श्रीमानको मृत्युपछि श्रीमती राजनीतिमा आउँदा त्यसले पार्टीलाई खासै फाइदा नपुग्ने बताइरहेका छन् । ‘यस्तो संस्कारको अन्त्य गर्नुपर्छ, विशेषगरि कम्युनिस्ट पार्टीमा यस्तो कल्चरलाई किन पनि बढुवा दिनु हुँदैन भने यसले राजनीतिप्रति मानिसको वितृष्णा बढाउँछ,’ नेकपाका एक केन्द्रीय सदस्यले भने ।
तर, पार्टीभित्र विद्याको विपक्षमा खासै स्वर सुनिँदैन । त्यसैले उनले नै कास्की २ बाट उम्मेदवारी दिने लगभग निश्चित छ ।
‘फेरि उहाँ पनि अव मनौवैज्ञानिक हिसाबमा पनि तयार भइसक्नु भएको छ,’ उनीनिकट कास्कीका एक नेकपा नेताले भने, ‘विद्याजी पहिले राजनीतिमा नै हुनुहुन्थ्यो, त्यसैले उहाँलाई राजनीति नयाँ होइन, यो त खासमा उहाँको राजनीतिक पुनरागमन हो ।’
कास्की २ मा अहिलेसम्म रवीन्द्र मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले मात्र आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ । उनीहरुले त्यहाँ प्रचारप्रसार पनि सुरु गरिसकेका छन् । साझा विवेकशीलकी रजनी केसी पहिले नेपाली कांग्रेसमा नै थिइन् ।
नेकपाका लागि मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसले त्यहाँ देवराज चालिसेलाई उम्मेदवार बनाउने सम्भावना बढेको छ । चालिसे २०७४ सालमा भएको निर्वाचनमा रवीन्द्र अधिकारीका प्रतिस्पर्धी थिए ।
२०७४ सालमा अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए । उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सयभन्दा बढी मतले जितेका थिए । चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । यो निर्वाचन क्षेत्रमा प्रदेश सभाका लागि चाहिँ एक जना नेपाल कम्युनिस्ट पार्टीका र एक जना नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
पहिले नेपाली कांग्रेसमा नै भएकी रजनी केसीले कांग्रेसको भोट काट्ने भएकाले नेकपाले यसपटक आफ्नो जित सहज हुने अनुमान गरेको छ । अर्कोतिर, नेकपाले विद्या भट्टराईलाई सहानुभूतिका भोट पनि आउने विश्वास गरेको छ । त्यसैले नेकपा यो सिटमा आफूले जित निकाल्नेमा विश्वस्त छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।