भारतले जडीबुटीमा प्रतिबन्ध हटायाे, व्यवसायी उत्साहित

बाँके– भारतले जडीबुटीे निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नेपाली व्यवसायी उत्साहित भएका छन् । गत वर्षदेखि नेपालबाट निकासी हुने प्रमुख ३१ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश नगरिएकाले नेपाली जडीबुटी निकासी ठप्प हुँदै आएको थियो । 

भारत सरकारले गत महिना अक्टाेबर १ मा भारतीय राजपत्रमा सूचना प्रकाशित गरेर जडीबुटी निकासीमा लगाइएको प्रतिबन्ध हटाइएको जानकारी गराएकाले नेपाली व्यवसायी उत्साहित भएको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताए । 

नेपाल र भारतका प्लान्ट क्वारेन्टाइनका उच्च अधिकारीबीच काठमाडौंमा गत भदौमा भएको बैठकमा भारतीय क्वारेन्टाइनले सूचीकृत नगरेका जडीबुटीमध्ये ३१ प्रकारका जडीबुटीलाई तत्काल सूचीकृत गर्ने सहमतिबमोजिम भारत निकासी हुने जडीबुटीलाई सूचीकृत गरिएको संघका अध्यक्ष अन्सारीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी भारत निकासी हुने ३१ प्रकारका जडीबुटीमाथि लगाइएको प्रतिबन्ध हटाइएपछि अब फेरि पहिलेझैँ निकासी सुरु हुनेछ। ‘नेपालगञ्जमा लामो समयदेखि थन्किएको चार हजार टन जडीबुटीको निकासी प्रक्रिया सुरु भएको छ,' नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष अन्सारीले भने, ‘प्रतिबन्ध हटेपछि अब फेरि पहिलेझैँ जडीबुटी व्यवसाय फस्टाउनेछ ।’

लामो समयदेखि निरन्तरको माग र प्रयासपछि भारत सरकारले राजपत्रमा सूचना जारी गरेर प्रतिबन्ध हटाएको जानकारी गराए पनि अझै केही जडीबुटीको प्रतिबन्ध फुकुवा नगरिएको अध्यक्ष अन्सारीले बताए । भारतमा सबैभन्दा बढी निकासी हुँदै आएको रिठ्ठा, कुट्की, दालचिनी, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामसी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइललगायत लगाइएको प्रतिबन्ध हटेको छ ।

नेपालबाट निकासी हुने ३१ प्रकारका जडीबुटीलाई भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश गरिएसँगै नेपालगञ्जमा लामो समयदेखि थन्किएको चार हजार टन जडीबुटीको निकासी प्रक्रिया सुरु भएको व्यवसायी सकिल अहमद जसगढले बताए ।  



नेपालगञ्ज नाकाबाट सबैभन्दा बढी जडीबुटी भारत तथा तेस्रो मुलुकमा निकासी हुने गर्छ । नेपाल जडीबुटी व्यवसायी संघको तथ्यांकअनुसार केही वर्ष पहिलेसम्म यो नाकाबाट बर्सेनि ७० लाख किलोसम्म जडीबुटी निकासी हुने गरेकामा हाल एक लाख किलो पुग्न पनि मुस्किल भएको थियो । प्रतिबन्ध फुकुवासँगै गोदाममा थन्किएको ठूलो परिमाणको जडीबुटी निकासी हुने आशामा व्यवसायी खुसी भएको व्यवसायी जस गढले बताए । 



  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १५:१४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया