काठमाडौं– मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली म्यानमार प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीले आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा परिसरमा टोलीको बिदाइ गरेको हो ।
नेपालले म्यानमारसँग आगामी कात्तिक २१ गते मैत्रीपूर्ण खेल खेल्नेछ । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेल अघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
विश्वकप छनौटको समूह ‘बी’ मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। नेपाल समूहको चौथो स्थानमा रहेको छ ।
नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग आगामी मंसिर ३ गते दशरथ रंगशालामा खेल्नेछ । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई कुवेतसँग हुने खेलको तयारीका रुपमा हेरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।