काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अबेर साँझ बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचनका उम्मेदवार टुङ्गो लगाएको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार प्रतिनिधि सभामा एक मात्र रिक्त रहेको स्थानमा कास्की २ बाट विद्या भट्टराई निर्वाचनमा उठ्दै छिन् । सो ठाउँ तत्कालीन संस्कृति, नागरिक उड्ड्यन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको थियो । भट्टराई अधिकारीपत्नी हुन् ।
प्रदेशसभा तर्फ दाङको क्षेत्र नम्बर २ को खका लागि विमला ओली उम्मेदवार भएकी छिन् । त्यस्तै, भक्तपुरमा १ कमा देवीप्रसाद ढकाल उम्मेदवार बन्ने भएका छन् ।
नेकपाले बाग्लुङमा चाहिँ जनमोर्चासँग सहकार्य गर्ने भएको छ । धरान उपमहानगरपालिकाको मेयरमा चाहिँ नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाउने भएको छ ।
१४ मंसिरमा ५२ पदका लागि निर्वाचन हुँदैछ । नेकपाले गाउँपालिका र वडाअध्यक्षका उम्मेदवारको टुङ्गो चाहिँ प्रदेश कमिटीले लगाउने जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।