पाेखरा– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपाको एकता प्रक्रिया लम्बिँदा सरकारले गरेका कामको गलत प्रचार भइरहेको बताएका छन् । एकता प्रक्रिया लम्बिँदा कार्यकर्तामा प्रतिरक्षात्मक क्षमता कमजोर बनेको र सरकारको नकारात्मक आलोचना गर्नेहरूले ठाउँ पाएको उनको विश्लेषण छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा मदन भण्डारी फाउन्डेसन जिल्ला कार्यसमिति कास्कीले शनिबार अयोजना गरेको समृद्धि र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो विश्लेषण गरेका हुन् । सिन्डिकेटको अन्त्य गर्ने र समयमा काम नसक्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने जस्ता काम गर्दा सरकारविरुद्ध नै प्रहार भइरहेको उनको भनाइ छ । ‘हिजो विदेश पठाउँछु भन्दै पैसा लिने र नपठाउने कुरा सामान्यजस्तै लाग्थ्यो, विकास निर्माणका कामको ठेक्का लिने र काम वर्षौँसम्म नगरी होल्ड गरेर राख्ने कुरा सामान्य थियो,’ उनले भने ‘यसरी खान पल्केकाहरू अहिले कारबाहीको दायरामा आउन थालेका छन्, अनि सरकारविरुद्ध उनीहरू संगठित रूपमा लाग्न थालेका छन् ।’
मुख्यमन्त्री पोखरेलले तत्कालीन नेकपा एमालेलाई जनताको बहुदलीय जनवादले गाइडेड गर्दा र माओवादीलाई जनयुद्धले गाइडेड गर्दा जस्तो सहज अहिले नरहेको टिप्पणी गरे । उनले भने, ‘एमालेमा जनताको बहुदलीय जनवादको रसायन थियो, माओवादीमा जनयुद्धको रसायन थियो, त्यही रसायनले सबैलाई बाँधेको थियो ।’ अहिले लिखित दस्ताबेजमा केही भए पनि त्यो जनतामा नपुगेको र त्यसैले एकता हुँदा एकताको रसायन गुमेको उनको भनाइछ । यद्यपि, छिट्टै यसको पूर्ति हुने उनले बताए ।
मुख्यमन्त्री पोखरेलले राजनीतिक परिवर्तनजस्तो सामाजिक परिवर्तन सहज नभएको बताए । हिजो राजनीतिक परिवर्तनमा ज्यान दिन तयार हुने कार्यकर्तालाई आज सामाजिक परिवर्तन र रूपान्तरणमा लाग्न भन्यो भने तर्किने गरेको उनले विश्लेषण गरे । चुनावको नेतृत्व पार्टी र नेता कार्यकर्ता सबैले गरे पनि सामाजिक परिवर्तन गर्दा भने एक्लो बन्नुपर्ने बाध्यता जनप्रतिनिधिमा रहेको उनले दुखेसो पोखे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।