बैतडीका ८४ मध्ये ७२ वडा सचिवविहीन

बैतडी– बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव छैनन् ।

ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालकमार्फत वडाको काम गराउँदै आएका छन् । पाटन नगरपालिका–१० वडामध्ये ७ वडा सचिवविहीन रहेका नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । 

यस्तै, डिलाशैनी गाउँपालिका–७ वडामध्ये एक वडामा मात्रै सचिव रहेका गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताए। दोगडाकेदार गाउँपालिका–८ वडामध्ये दुई वडामा मात्रै सचिव रहेका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए । 

यस्तै पुरचौडी नगरपालिकाका–१० वडामध्ये एक वडामा मात्रै सचिव रहेका र अन्य वडामा प्राविधिक सहायकले काम सञ्चालन गरिरहेका नगरपालिकाका उपप्रमुख जानकी बमले बताए । 

सुर्नया गाउँपालिकाका आठ वडामध्ये एक वडामा पनि सचिव नरहेका गाउँपालिकाका नायव सुब्बा धनबहादुर चन्दले जानकारी दिए । यस्तै, जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकामा पनि ११ वडामध्ये चार वटामा मात्रै सचिव रहेका बताइएको छ । 

वडा कार्यालयमा सचिव नहुँदा वडामै हुने कामका लागि गाउँपालिका तथा नगरपालिकाका केन्द्रसम्म धाउनुपरिरहेको स्थानीयले बताएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि काम गर्न सजिलो होला भन्ने आशा गरेका नागरिक निरास हुन थालेका छन् । 



कर्मचारीको अभावमा वडामा सेवा नपाउँदा उनीहरू खिन्न भएका हुन् । कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीविहीन भएका हुन् ।



  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार १५:३८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया