मकै भटमास खाएर चुनाव लड्न सम्भव छ ?

काठमाडौं– अक्टोबर २८ मा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो फेसबुक पेजमा एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उपनिर्वाचनका लागि कास्की २ की साझा पार्टीकी उम्मेदवार रजनी केसी र साझा पार्टीको टिसर्ट लगाएका केही कार्यकर्ता मकै र भटमास हातमा थापेर खाइरहेका छन् । 

त्यही भिडियाको कमेन्टमा रवीन्द्र मिश्रले लेखेका छन्, ‘धेरैले मासुभात खुवाएर,  पेट्रोलको पैसा बाँडेर,  अझ कति ठाउँमा रक्सीसहितको भोज दिएर चुनाव प्रचार गर्ने समाजमा साझा पार्टीले प्रचारप्रसार कम खर्चिलो गर्न सस्तो पर्ने तर पौष्टिक पनि हुने मकै भटमासको खाजा खुवाउँदा त्यो अन्य पार्टीका लागि उदाहरण भयो कि नाटक ?

रवीन्द्र मिश्रको यो पोस्टमा एक हजार भन्दा धेरैले कमेन्ट गरेका छन् । अधिकांशले यसलाई सकारात्मक रुपमा लिएका छन् भने केहीले यसलाई प्रपोगान्डका रुपमा पनि चित्रण गरेका छन् । 

देशभर रिक्त रहेका ५२ स्थानमध्ये कास्की दुई एकमात्र निर्वाचन क्षेत्र हो जहाँबाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदै छ । कास्कीबाट प्रतिनिधिसभाका लागि नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङमा दुर्घटनामा परेका निधन भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले अझै उम्मेदवारको टुङ्गो लगाइसकेको छैन । 

त्यसैले कास्कीमा चुनावी सरगर्मी निकै बढेको छ । यो सरगर्मीलाई थप रोमान्चक साझा पार्टीको मकै भटमास खाएर चुनाव लड्ने योजनाले बनाएको छ ।

यता, भक्तपुर १ (क)बाट पनि चुनावी मैदानमा उत्रिएका साझा पार्टीकै सुरज प्रधानले आफूहरु मकै भटमास खाएर चुनाव लड्ने दाबी गरेका छन् । 



के अहिले मकै भटमास खाएर साँच्चिकै चुनाव लड्न सम्भव छ त ? 

‘चुनाव भनेको जनतालाई आफ्नो पक्षमा पार्ने एउटा खेल न हो,’ राजनीतिक विश्लेषक हरि रोका भन्छन्, ‘अनि यस्तो समयमा नेताहरुले महत्वकांक्षी र आफू पपुलर हुने योजना लिएर जनताकहाँ जान्छन् । त्यो अजेन्डा सम्भव पनि हुनसक्छ, सम्भव नहुन पनि सक्छ ।’



रोकाले खासमा जनताले ती नेताले गरेका वाचा र योजना कार्यान्वयन भएका छन् कि छैनन् वा भनेको अनुसार नेताले काम गरेका छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण भएको बताए । 

‘साथीहरु साँच्चिकै मकै भटमास खाएरै चुनावी क्षेत्रमा हुनुहुन्छ,’ साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भने ।

‘मकै भटमास खाएर चुनाव लड्न सकिँदैन भन्ने होइन,’ रोकाले आफूले पनि मकै भटमास खाएरै चुनावमा गएको विषयमा सम्झिए, ‘२०४८ सालको निर्वाचनमा हामी पनि मकै भटमास खाएर चुनाव लडेका थियौँ, जितेका पनि थियौँ ।’

तर, अहिलेको परिस्थितिमा जनता शिक्षित र चेतनशील भइसकेकाले पनि यस्ता नारा प्रचारका लागि मात्र उपयुक्त हुने उनको निक्र्योल छ । ‘अहिले त जनताहरुले राम्रो उम्मेदवार को हो भन्ने छुट्ट्याउन सक्छन्,’ रोकाले भने, ‘जनताहरु शिक्षित र चेतनशील भइसके ।’

उता, कास्की २ बाट साझा पार्टीकी उम्मेदवार बनेकी रजनी केसीले चाहिँ यसलाई खासै ठूलो कुरा नभएको टिप्पणी गरिन् । ‘यो खासै ठूलो कुरा नै होइन,’ उनले भनिन्, ‘मकै भटमास खाएर चुनाव लड्न सकिँदैन भन्ने के छ र ?’

तर, आफूहरुले चुनावमा मकै भटमास खाएर लड्ने भनेदेखि धेरै व्यंग्य गरेको उडाएको उनले बताइन् । ‘हामीले मकै भटमास खाएर चुनाव लड्छौँ भन्दा मान्छेहरु उडाइरहेका छन्,’ उनले भनिन्, ‘यी आलोचना मात्र हुन्, हामीले आफूले बोलेका कुरालाई कसरी काममा रुपान्तरण गरेर देखाउँछौ भन्ने हामीलाई नै थाहा छ ।’

अर्कोतिर विश्लेषक रोका भने अहिले स्मार्ट फोनको जमाना भएको र सस्तो लोकप्रियताका लागि कुनै पनि दल वा नेताले जनतालाई झुक्याउन नसक्े बताउँछन् । ‘कुनै नेताको न्वारनदेखिकै कुरा पनि अहिले थाहा भइहाल्छ,’ उनले भने, ‘नारा त जस्तो पनि बनाउन पाइयो नि । हामीले चुनाव जितेपछि स्वर्ग जाने भर्याङ बनाउँछौ भन्न पनि पाइयो नि ।’

अर्कोतिर, कास्कीकी साझा पार्टीकी उम्मेदवार रजनी केसी चाहिँ आफूहरुले मकै भटमास खाने भन्ने कुरा गर्नुलाई व्यंग्यका रुपमा पनि बुझ्नु पर्ने आग्रह गर्छिन् । ‘चुनावमा लाखौँ खर्च गर्ने पार्टीहरुलाई यो कटाक्ष पनि हो,’ उनले भनिन्, ‘खासमा चुनाव लड्न नियतको आवश्यकता पर्छ, खाने के लाउने के भन्ने कुराहरु गौण हुन् ।’ 

  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार ११:४२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया