थप उपचारका लागि प्रधानमन्त्री ओली अमेरिका जान सक्ने
फाइल तस्वीर ।

काठमाडौं– १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गर्न छाडेपछि केही समययता प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार स्वास्थ्य चेकजाँचमा छन् । उनी उपचारका लागि अस्पताल भर्ना भइरहेका छन् । गत साता उनी ग्रान्डी अस्पतालमा दुई पटक डायलाइसिस गरेर फर्किए । 

दोस्रो पटक प्रधानमन्त्री बनेका ओली देशका अस्पतालमा मात्र होइन, योबीचमा विदेशमा पनि उपचार र स्वास्थ्य परीक्षण गरिरहेका छन् । बारम्बार अस्पतालमा भर्ना भइरहे पनि उनको स्वास्थ्यबारे प्रष्ट जानकारी दिने गरिएको छैन । कतिसम्म भने गत साता उनी ग्रान्डी अस्पतालमा भर्ना हुँदा पनि उनको सचिवालयले डायलाइसिस गरिएको समेत भन्न मानेन । अझ उनी अस्पतालमा भर्ना नै नहुने जिकिर उनीनिकटस्थले गरिरहे ।

तर, ग्रान्डीमा तेस्रोपटक डायलाइसिस गर्न शनिबार वा आइतबार जाने भनिए पनि ओलीले तेस्रो डायलाइसिस गराएका छन् । बरु उनले यसबीचमा महाराजगन्जमा रहेको शिक्षण अस्पतालमा एक्स रे गराए । मिर्गौलाले काम राम्रोसँग नगरेपछि ग्रान्डी अस्पतालका चिकित्सकले उनको मिर्गौलाको क्षमता बढाउन कडा औषधि प्रयोग गरेका छन् । अस्पातल स्रोतका अनुसार त्यसैले अहिले तत्काल ओली अर्को डायलाइसिस नगर्ने पक्षमा पुगेका हुन् । 

त्यसो त ग्रान्डीबाट डिस्चार्ज भएपछि ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आफ्नो स्वास्थ्यबारे ब्रिफिङ गर्दा नियमित डायलाइसिस गर्नु पर्ने वा मिर्गौला प्रत्यारोपण नै गर्नसमेत पर्ने अवस्था आउनसक्ने जानकारी दिएका थिए । 

१८ साउनदेखि २७ गतेसम्म र ५ भदौदेखि १९ गतेसम्म सिंगापुरमा प्लाज्मा फेरेसिस गरेर नेपाल आएका ओली अब थप उपचारका लागि अमेरिका जाने तयारीमा रहेको उनीनिकट नेकपाका एक नेताले जानकारी दिएका छन् । 

ती नेता भन्छन्, ‘सिंगापुरमा उहाँको एन्टीबडी शरीरबाट निकालिएको थियो । त्यसले अहिलेसम्म राम्रो अवस्थामा ल्याएको छ । तर, अब मिर्गौला प्रत्यारोपण नै गर्न पर्ने खण्डमा चाहिँ उहाँ अमेरिका जाने कि भन्ने सल्लाह गर्दै हुनुहुन्छ ।’



ती नेताका अनुसार यसबारे प्रधानमन्त्री ओलीले ग्रान्डीका चिकित्सकसँग पनि सल्लाह गरेका छन् । ‘सिंगापुरमा भन्दा अझ प्रभावकारी उपचार अमेरिकामा होला भन्ने विश्वास पनि हो,’ ती नेताले फरक धारसँग भने, ‘मिर्गौला प्रत्यारोपण गर्न परेको खण्डमा पनि अमेरिकामा सहज हुने बुझिएको छ ।’

उनका अनुसार ओलीलाई उनीनिकट नेता तथा अन्यले पनि अमेरिका जान सुझाएका छन् ।



साथसाथै भारतमा नै उपचार गराउने कि भन्ने विषयमा पनि बालुवाटारमा छलफल हुन थालेको ओलीनिकट ती नेताले बताएका छन् । ‘पहिलो विकल्प अमेरिका र त्यहाँ नभए भारतमै जाने कि भन्ने विषयमा पनि छलफल भएको छ,’ उनले भने । 

१२ वर्षअघि प्रधानमन्त्री ओलीको मिर्गौला भारतकै एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो । त्यसयता उनी उपचारकै लागि भारत खासै गएका छैनन् ।

अमेरिकामा सन् २०१४ देखि मिर्गौला वा अन्य अंग प्रत्यारोपणबारे नयाँ नियम ल्याइएको छ । यो त्यहाँ २० वर्षपछि परिवर्तन गरिएको नियम थियो । परिवर्तित नियमअनुसार त्यहाँ स्वदेशी र विदेशी दुवैलाई मिर्गौला प्रत्यारोपणमा समान व्यवहार गरिने भएको हो । तर, अमेरिकामा नै मिर्गौला प्रत्यारोपणका लागि कुरिरहेका युवाहरुको सूची निकै भएको त्यहाँका मिडियाहरुले लेखेका छन् । 

अमेरिकामा वर्षेनी १६ हजारभन्दा धेरै मिर्गौला प्रत्यारोपण हुन्छन् । अनि अमेरिकाको मिर्गौला फाउन्डेसनका अनुसार एक लाखभन्दा धेरै मिर्गौला प्रत्यारोपणका लागि कुरिरहेका छन् । अमेरिकाका विभिन्न राज्यमा मिर्गौला प्रत्यारोपणका लागि कुर्नु पर्ने समय औसतमा ३६ महिना भएको बताइन्छ । यो समय अंगदान गरेका मानिसको मिर्गौला प्रत्यारोपणका सन्दर्भमा लागु हुन्छ । 

अमेरिकामा मिर्गौला प्रत्यारोपण गर्न चाहनेले आफन्तकै मिर्गौला लिनु पर्छ भन्ने छैन । त्यहाँको नयाँ नियम अनुसार वंशानुगत सम्बन्धमा भएका व्यक्तिले मात्र नभएर भावानात्मक सम्बन्ध भएका साथीभाइले पनि मिर्गौला दान गर्न सक्छन् ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७६ बुधबार १:१४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया